पार्टी बिग्रेकोमा चिन्ता नगर्ने कि रामका नाममा झ्याम झ्याम ताली ठोक्ने ?

पार्टी बिग्रेकोमा चिन्ता नगर्ने कि रामका नाममा झ्याम झ्याम ताली ठोक्ने ?

-दिनेश रायमाझी

नेकपा (एमाले) को विभाजन किन भयो होला भनेर जान्न माथापच्ची गरिराख्नु पर्दैन । कुरा सामान्य छ । ‘न हाँसको चाल न बकुल्लाको’ भएकाले नै एमाले विभाजित भएको हो । यो विभाजित भएसँगै एमालेको दिशा र दशा साथसाथै नेपाली कम्युनिष्ट आन्दोलन अब कसरी अघि बढ्ला भन्ने चासो सर्वत्र बढेको छ । खास गरेर एमालेका पछिल्ला गतिविधिहरुले यस्तखाले चासोलाई बढाएको हो ।

सोभियत संघलगायत पूर्वी युरोपका कम्युनिष्ट पार्टीहरु केही अपवादबाहेक आजको दिनमा लगभग प्रभावशून्य अवस्थामा छन् । पहिले साम्यवादी शासन प्रणाली भएका ती देशमा त्यहाँका जनतालाई खाने,उपचार गर्ने र रोजगारीको चिन्ता लिनुपर्ने अवस्था नै थिएन । सबै आवश्यकता पूरा गर्नुपर्ने जिम्मा राज्यको थियो ।

“सबै कुराको चिन्ता राज्यले लिइदिने व्यवस्था गर्ने कम्युनिष्ट पार्टीहरुलाई अहिले किन राजनीतिमा जनताले रोजिरहेका छैनन् ? आजको एमालेले ती देशमा भएका निकट अतितका तथ्य तथा आजको यथार्थलाई ध्यान दिइरहेको देखिँदैन ।”

यस्तो सबै कुराको चिन्ता राज्यले लिइदिने व्यवस्था गर्ने कम्युनिष्ट पार्टीहरुलाई अहिले किन राजनीतिमा जनताले रोजिरहेका छैनन् ? आजको एमालेले ती देशमा भएका निकट अतितका तथ्य तथा आजको यथार्थलाई ध्यान दिइरहेको देखिँदैन । मान्छेलाई खान र लाउन मात्र दिएर नहुने रहेछ । उसले स्वतन्त्ररुपले बोल्न,लेख्न वा आफ्ना कुराहरु राख्न पाएन भने जस्तोखालका सुविधाहरु दिए पनि त्यसलाई तिलाञ्जली दिएर सप्तरंगी र खुला विचरण गर्न सकिने माहौल खोज्छ ।

ती देशबाट सिक्ने वा लिने शिक्षा भनेको यहि हो । स्टालिनले आफ्ना के कति सहयोध्दाहरुमाथि के कस्ता अत्याचार गरे त्यो इतिहासमा नै समाहित छ । आठ लाख सदस्य भएको पार्टीमा पार्टीका पदाधिकारीहरु तलदेखि माथिसम्मै निर्विरोध वा सर्वसम्मत हुने वा सर्वसम्मत गराउने काम कुराले स्टालिनको राजनीतिक पाटोतर्फ नै इंगित गर्छ । हेर्दा राम्रो देखिने यो अनौठो नयाँ चलन अर्थात् बहुमतको बलबाट यस्तो अभ्यास गर्ने कुराले पार्टीलाई लोकतान्त्रिक मार्गमा होइन कि अधिनायकवादी मार्गमै हिँडाउने छ ।

“एमाले जनताको नजरमा कम्युनिष्ट पार्टी हो तर त्यहाँका एकजना कार्यकर्ता र घागडान भनिएका नेता कसैले पनि राम र सीताको प्रतिमालाई माझमा राखेर अध्यक्षले फोटो खिचेको, भगवानको गुणगान गाएको कुरामा बिरोध,असहमति वा टिप्पणीसमेत गर्न सक्ने अवस्था छैन । “

लेखेको पढ्दा नमिठो लाग्नसक्छ तर यथार्थ के हो भने एमालेका नेतादेखि कार्यकर्ता सबैमा विविधता,बहुलता र सहनशीलता लगभग पाइँदैन वा देखिँदैन । अहिलेको एमाले इन्द्रधनुष जस्तो रंगीन होइन कि निरस र एकोहोरो कराइरहने काकाकुल जस्तो देखिन्छ । यो पार्टी विचारमा, व्यवहारमा साह्रै दम्भी र असहिष्णु बन्दै गइरहेको सहजै आभाष हुन्छ ।

असहमत राख्नेको खेदो खन्ने, बदनाम गर्ने,झुठो प्रचार गर्ने र जाइलाग्ने प्रवृत्ति डरलाग्दोसँग मौलाइरहेको कुरा चिन्ता लाग्ने तहमा नै पुगेको छ । जाइलाग्न अह्राएपछि कालो अरिङ्गाल झैँ जाइलाग्ने संस्कृति यसरी नै मौलाउँदै जाने हो भने यसले पुर्याउने भनेको फेरि फासीवादमा हो । छिमेकी सत्ताधारी दलका आइटी सेलले जसरी विपक्षीहरुको चरित्रहत्या गर्ने,झुठो प्रचार गरेर भ्रमको खेती गर्ने र मान्छेलाई धर्म, जाति र सम्प्रदायमा विभाजन गरेर सत्ताधारी दलको राजनीतिक उद्देश्य पूरा गराउने काम गरिरहेको छ । यता पनि ठीक त्यसैको सिको गरेर एमालेले पनि सक्दो प्रयास गरिरहेको छ ।

“एउटा कम्युनिष्ट पार्टीको अध्यक्षले ईश्वरको स्तुति गर्नु र भगवानको भरोसामा विकास ल्याउने कुरा गर्नु कत्तिको जायज हुन्छ ?”

छिमेकी देशको सत्ताले अदालत नै पनि र अन्य संवैधानिक अंगहरु जस्तो निर्वाचन आयोग,आयकर, सीबीआई र प्रहरीलाई प्रयोग गरेर विपक्षी तथा आफ्नै दलभित्रका महत्वपूर्ण मान्छेहरुलाई पनि दुःख दिने काम गरिरहेको सुनिन्छ । एमालेको आजको नेतृत्व पनि ठीक त्यस्तै अभ्यास गर्न चाहन्छ भन्ने नै देखिन्छ । एमालेभित्र अब लेख्ने,बोल्ने र असहमति राख्ने छुट धेरै कमलाई मात्रै प्राप्त हुनेछ र त्यो पनि मूल नेतृत्वको अनुमतिमा वा इशारामा कोठाभित्र मात्रै जसरी नेम्वाङले संसद विघटन गर्नु ठीक होइन भनेर सुझाव दिएको थिएँ भनेर भनेका थिए ।

स्टालिनले जस्तो भौतिकरुपमा त होइन तर राजनीतिक रुपमा असहमत पक्ष वा भनौं फरकमत राख्ने पक्ष सोत्तर नै हुने अवस्थाको निर्माण भइरहेको सहजै अनुमान लगाउन सकिन्छ । यो राजनीतिक रुपमा निकै ठूलो चिन्ताको विषय हो । एमाले जनताको नजरमा कम्युनिष्ट पार्टी हो तर त्यहाँका एकजना कार्यकर्ता र घागडान भनिएका नेता कसैले पनि राम र सीताको प्रतिमालाई माझमा राखेर अध्यक्षले फोटो खिचेको, भगवानको गुणगान गाएको कुरामा बिरोध,असहमति वा टिप्पणीसमेत गर्न सक्ने अवस्था छैन ।

“भोटको निम्ति विचार,सिद्धान्त र व्यवहारको तिलाञ्जली दिनेहरुको नेतृत्वमा कम्युनिष्ट आन्दोलन कहाँ पुग्ने होला ?”

जनताले त भोटमार्फत् बोल्ने हो अर्थात् भोटमार्फत् चोट दिने हो । जब नेतृत्वसँग जनतालाई केही भनेर कन्भिन्स गर्नसक्ने अरु कुराहरु सकिन्छन् त्यसपछि उसले धर्मको सहारा लिएर मान्छेको भावनालाई भड्काउन शुरु गर्छ भनिन्छ । एउटा कम्युनिष्ट पार्टीको अध्यक्षले ईश्वरको स्तुति गर्नु र भगवानको भरोसामा विकास ल्याउने कुरा गर्नु कत्तिको जायज हुन्छ ? तर यो विषयमा कतै पनि र कसैले पनि कुनै चर्चा गरेको पाइएन ।

बरु अर्का दलका मुखियाले पनि मन्दिर बने त सबैभन्दा खुशी मै हुनेछु भनेर गाला बजाए । उनले पनि धार्मिक मत खल्बलिन सक्ने आशंकामा त्यस्तो भनेको अनुमान गर्न कुनै गाह्रो छैन । भोटको निम्ति विचार,सिद्धान्त र व्यवहारको तिलाञ्जली दिनेहरुको नेतृत्वमा कम्युनिष्ट आन्दोलन कहाँ पुग्ने होला ?

अन्त्य गर्दै,

पार्टीको संगठित सदस्य,पार्टीको पक्षमा निरन्तर बोल्ने तर एक दिन पनि कुनै नेताको घरमा नगएको, कुनै अवसरको माग नगरेको म जस्ता मान्छेहरु धेरै छन् देशभर । हामीजस्ता मान्छेले उठाउने सवालहरु आग्रहरहित हुन्छन् । हामीजस्ता मान्छेहरुको निम्ति न ओली,न त माधव,न प्रचण्ड नै पार्टी हुन् । हामी त समाजवाद आयो भने गरिब मजदुर र किसानहरूको जीवन सरल र आनन्दको होला भनेर कम्युनिष्ट पार्टीमा लागेको हो ।

दश नंग्रा खियाएर कमाएको पैसाबाट लेबी,चन्दा,सहयोग दिने हो हामीले । तर बदलामा हामीले चाहेको भनेको अहिलेलाई समाजवादमा जाने लोकतान्त्रिक विधि समाते हुन्थ्यो पार्टीले भन्ने हो । र, यो भनेजस्तो सजिलोसँग आउने छैन भन्ने पनि थाहा छ । अनि आजको दिनमा,जे जस्तोसुकै भए पनि, एमाले नै यहाँको कम्युनिष्ट आन्दोलनको मूल प्रवाह हो । यो पार्टीले गलत मार्ग लियो भने कम्युनिष्ट आन्दोलन बिग्रने होइन कि ध्वस्त हुनसक्छ । तर गतिविधिहरुले भने एमाले यो पछिल्लो टिप्पणी उन्मुख छ भनेर भन्छ र अत्यधिक चिन्ता पनि यसैकै छ ।

टिप्पणीहरू