राष्ट्रपति आज एक घण्टामा दुई ठाउँ पुग्नुहुने

राष्ट्रपति आज एक घण्टामा दुई ठाउँ पुग्नुहुने

छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यको पूजा गरिँदै छ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना,उपासना र पूजा सोमवारदेखि शुरु भएको हो ।

काठमाडौंमा आयोजना हुने छठ पर्वका विभिन्न स्थानमध्ये राष्ट्रपति विद्यादेवी भण्डारी दिउँसो ३ बजे गुह्येश्वरीको गौरीघाट र ४ बजे कमलपोखरी जाने बताइएको छ ।

उता पूर्वयुवराज्ञी हिमानी शाह पनि छठ पर्वमा सहभागी हुन अस्तिदेखि वीरगञ्ज पुग्नुभएको छ । उहाँ आज साँझ घडीअर्वा पोखरीमा हुने विशेष कार्यक्रममा सहभागी हुने जानकारी दिइएको छ ।

महाभारतमा उल्लेख भएअनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवको आराधना गरिएको थियो । त्यस समयमा पाण्डवहरू विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोककथनबमोजिम सोही समयदेखि छठ मनाउन थालिएको हो ।

सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूर्याले छठको व्रत बसेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको शुरुआत भएको बताइन्छ ।

साम्भपुराणमा आफ्नै पिता श्रीकृष्ण तथा महर्षि दुर्वासाको सरापद्वारा कुष्ठरोगबाट पीडित साम्भ सूर्यको आराधनाको फलस्वरूप रोगमुक्त भएको विश्वास गरिन्छ । छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट समेत मुक्ति पाइने जनविश्वास छ ।

छठ पर्वका लागि तराईका विभिन्न नदी,खोला,पोखरी र जलाशयहरु झकिझकाउ बनाइएको छ । काठमाडौंको गुह्येश्वरी र गौरीघाट क्षेत्र,गहनापोखरी,नागपोखरी, कमलपोखरीलगायत बाग्मती,नख्खु र विष्णुमतीलगायत नदी किनारलाई सजाइएको छ ।

टिप्पणीहरू