सत्ता गठवन्धन र एमालेका कार्यकर्ता मारमुंग्रीमा उत्रेपछि सिन्धुलीमा कर्फ्यु
शालिक अनावरणको विषयलाई लिएर सिन्धुलीमा पाँच दलीय गठवन्धन र प्रमुख प्रतिपक्ष एमालेका कार्यकर्ताबीच विवाद भएको छ । कमलामाई नगरपालिकाद्वारा निर्मित विपी र पुष्पलालको शालिक अनवरण गर्न एमाले महासचिव ईश्वर पोखरेल आएपछि दुई पक्षीय विवाद चर्किएको हो ।
विवाद चर्किंदै जाँदा दुई पक्ष मारमुंग्रीमा उत्रने स्थिति देखिएपछि स्थानीय प्रशासनले कर्फ्यु लगाएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले आज बिहान ११ बजेदेखि लागू हुने कमलामाई नगर क्षेत्रभित्र कर्फ्यु लगाएको हो ।
प्रशासन कार्यालयका अनुसार कमलामाई नगरपालिकास्थित स्टल बजार, जुनारचोक, बसपार्क, ग्वाङ्घोला पुल, हस्पिटल रोड क्षेत्रभित्र शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर गर्दै निषेधाज्ञा जारी गरिएको हो । विवादका कारण बिहान केही बेर सदरमुकाम तनावग्रस्त बनेको थियो ।
त्यसलगत्तै बसेको जिल्ला सुरक्षा समितिको बैठकले कर्फ्यु आदेश जारी गर्न प्रशासन कार्यालयलाई सिफारिस गरेको थियो । सोही बमोजिम स्थानीय प्रशासन ऐन , २०२८ को दफा ६ को उप दफा (३क) ले दिएको अधिकार प्रयोग गरि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले बताउनुभएको छ ।
यसअघि हिजो नेपाली कांग्रेस कमलामाई नगर कमिटीले सिन्धुलीगढी विजय उत्सव कार्यक्रमलाई एमालेले पार्टीकरण गरेको भन्दै आपत्ति जनाएको थियो । नगरपालिकाले विजय उत्सव जस्तो जिल्लाकै गौरव र आत्मसम्मानको कार्यक्रमलाई पार्टीकरण गरेको भन्दै कांग्रेसले आज हुने कार्यक्रम बहिष्कार गर्ने चेतावनी दिएको थियो ।
सिन्धुलीगढीमा हरेक वर्ष कात्तिक २४ गते विभिन्न कार्यक्रम गरी विजय उत्सव मनाउने गरिएको छ । तत्कालीन गोर्खाली सेनाले इष्ट-इण्डिया कम्पनीको अंग्रेज फौजलाई परास्त गरेको दिनको सम्झनास्वरूप विजय उत्सव मनाउने गरिएको हो । तर पछिल्ला वर्षहरुमा विजय उत्सव कार्यक्रमलाई कमलामाई नगरपालिकाले एमालेकरण गरेको आरोप लागिरहेको छ ।
टिप्पणीहरू