अध्यक्ष ओलीलाई भेटेर कोमल वली सम्बृध्दितर्फ अग्रसर

अध्यक्ष ओलीलाई भेटेर कोमल वली सम्बृध्दितर्फ अग्रसर

नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओलीलाई रिझाउन सक्नेले राजनीतिको कक्षा उक्लेको उक्ल्यै गर्छ,भनिन्छ । त्यसैले होला,कयौँ क्षमतावान र पार्टीमा लामो समय योगदान गरेका नेताहरुलाई पन्छाएर ओलीलाई ‘बा’ भनेकै भरमा अवसर पाउनेको भीड सानो छैन एमालेमा ।

त्यस्तो अवसर पाउनेमा गायिका तथा राष्ट्रियसभा सदस्य कोमल वली पनि एक हुन् । अध्यक्ष ओलीलाई रिझाएकै कारण राप्रपा छोडेर एमाले प्रवेश गरेको केही महिनामै उनले राष्ट्रियसभा सदस्य हात पारेकी थिइन् ।

त्यतिबेलै एमालेका धेरै नेता-कार्यकर्ताले राष्ट्रियसभामा कोमलको ‘इन्ट्री’ लाई निको मानेका थिएनन् । जस्केलाबाट पार्टीमा छिराएर सांसद बनाइएको भन्दै असन्तुष्टि पोख्नेहरुमा ओलीलाई ‘बा’ भन्नेहरुसमेत थिए । तर, ओलीको मन जितेकै कारण ५० औँ वर्ष पार्टीमा लागेर कपाल फुलाएका कमरेडहरुलाई उछिनेर नवप्रवेशी कोमल राष्ट्रियसभामा छिरिन् ।

“कतिपयले जो शक्तिमा पुग्यो उसैको भक्त बनेको भन्दै उनलाई समीक्षा गर्न सुझाएका छन् । केही कमेन्ट भने ओली शक्तिमा रहँदासम्म मात्र उनको चुरीफुरी बढ्ने भन्दै कतिन्जेलसम्म हो हेरौँला भनेका छन् । “

ओली प्रधानमन्त्री हुँदा कोमल मन्त्रीको चर्चामा पनि थिइन् । केही सार्वजनिक कार्यक्रममा उनले गोकुल बाँसकोटा हटेर रिक्त सन्चार मन्त्रीका लागि पार्टीमा आफू योग्य पात्र भन्दै चर्चा चलाएकी थिइन् । तर, उनले अहिलेसम्म झण्डा हल्लाएर सिंहदरबार छिर्ने अवसर भने पाइसकेकी छैनन् ।

उनै कोमल वली अहिले ओलीको हात समाएर पार्टी राजनीतिमा माथि उक्लने दाउमा छिन् । आगामी मंसिरमा एमालेले नेतृत्व चयनका लागि दशौँ महाधिवेशन गर्दैछ । महाधिवेशनबाट माथिल्लै पद हात पार्न कोमलले बालकोटको परिक्रमा थालिसकेको भन्नेहरु एमालेमै छन् ।

केही वर्ष अघिसम्म राजालाई आफ्नो आदर्श मान्ने कोमल अहिले ओलीलाई आदर्श मान्छिन् । यसैबीच कोमलले हिजो अध्यक्ष ओलीसँग भेट गरेको भन्दै ट्वीट गरेकी छन् । महाधिवेशनबारे छलफल गर्न ओलीलाई भेटेको र महाधिवेशनपछि एमाले थप सम्बृध्द हुने दावी पनि गरेकी छन् ।

‘श्रध्देय अध्यक्ष केपी शर्मा ओलीज्यूसँग आज बिहान मेरो भेट भयो । उहाँले अवको महाधिवेशनले आमूल परिवर्तन ल्याउनुपर्छ र पार्टी शुध्दिकरणको बाटोमा जानुपर्छ भन्नुभयो’, उनले लेखेकी छन्, ‘त्यसका लागि हामी तयार छौँ,यो महाधिवेशनले हाम्रो गौरवशाली पार्टी नेकपा एमालेललाई थप सम्बृध्द बनाउनेमा म निश्चिन्त छु ।’

उक्त ट्वीटमा धेरैले कोमलमाथि व्यंग गर्दै कमेन्ट गरेका छन् । कतिपयले जो शक्तिमा पुग्यो उसैको भक्त बनेको भन्दै उनलाई समीक्षा गर्न सुझाएका छन् । केही कमेन्टमा भने ओली शक्तिमा रहँदासम्म मात्र उनको चुरीफुरी बढ्ने भन्दै कतिन्जेलसम्म हो हेरौँला भनिएको छ ।

सुरेश खड्काले भनेका छन्, ‘अझै पार्टीलाई संमृद्ध बनाउन बाँकी छ र ? म त पार्टीमा लाग्नेहरु अब अघाइसके होलान् भन्ठानेर, अब देश सम्मृद्धिको कुरा गर्लान् पो भन्ठानेको ।’

अर्का एक ट्वीटर प्रयोगकर्ताले चैं संमृद्धिमा योगदान गर्ने भए सडक निर्माणका लागि १ करोड रकम सहयोग गर्ने चुनौती दिएका छन् । रमेश ठकुरी नामका ती व्यक्ति जवाफमा लेख्छन्, ‘बर्दिया जिल्लाको सबैभन्दा पछाडि परेको गाउँ बाँसगाडी नगरपालिका वडा नं १ ठुमानी गाउँ महेन्द्र राजमार्गबाट ५ किलोमिटर पूर्व पर्छ । अहिले बाटोसम्म बन्न सकेको छैन,आमूल परिवर्तनका लागि पार्टी र नेताको हैसियतले १ करोड पैसा हाल्नुपर्यो ।’

कोमलको ट्वीटमा पत्रकार पोपटलालले भने कटाक्षपूर्ण टिप्पणी गरेका छन् । उनले पानीजहाजको टिकट काट्ने ठाउँ कहाँ हो ओलीलाई सोधिदिनु भन्दै कटाक्ष गरेका छन् । ‘त्यो पानीजहाजको टिकट काट्ने कुन ठाउँ हो सोध्दिनु त,मेरो त भेट हुँदैन, टिकट काट्न आ”को कुन घर हो पत्ता लागेन’, उनले लेखेका छन् । पत्रकार पोपटलाललाई जवाफ दिँदै कोमलले ‘चाँडै पत्ता लाग्छ सर’ भनेकी छन् ।

भट्ट महेश नामको ट्वीटर ह्यान्डलकर्ता लेख्छन्, ‘तपाईंसँग मेरो भेट कोरियामा राप्ति सम्पर्क समाजको कार्यक्रममा भएको थियो । मनोज रायमाझी दाइसहित । कोरियन मिनरल वाटर खुवाउने मैं हुं । उतिबेला राजाको शासन थियो, तपाईं राजभक्त । ओलीको पालामा ओलीभक्त । तपाईंको जीवन २०४२ पछि नियालिरहेको छु । सँधै शक्तिको अन्धभक्त भएको पाएको छु । समीक्षा गर्नुस् ।’

अर्का ट्वीटर प्रयोगकर्ता इश्वरी खानाले चाहिँ करिश्मा र कोमलको पार्टी कतिबेला कुन हुने हो थाहै नहुने भन्दै व्यंग गरेकी छन् ।

टिप्पणीहरू