११ दिनपछि बागमतीमा दुई मन्त्री

११ दिनपछि बागमतीमा दुई मन्त्री

बागमती प्रदेश सरकारमा सत्ता गठबन्धनका दुई मन्त्री थप गरिएको छ । मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आफू मुख्यमन्त्री भएको १४ दिनपछि मन्त्रिपरिषद बिस्तार गर्नु भएको हो । उहाँ कात्तिक ११ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।

मुख्यमन्त्री पाण्डेले नेकपा माओवादी केन्द्रको संसदीय दलका नेतासमेत रहनुभएका शालिकराम जमकट्टेललाई आर्थिक मामिला तथा योजना मन्त्री र नेपाली काँग्रेस संसदीय दलका सचिव नीमा लामालाई स्वास्थ्य मन्त्रीमा नियुक्त गर्नु भएको हो । जमकट्टेल तत्कालीन डोरमणि पौडेल नेतृत्वको सरकारमा आन्तरिक मामिला तथा कानून मन्त्री रहनुभएको थियो ।

बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले जमकट्टेल र लामालाई पद तथा गोपनीयताको सपथ गराउनु भएकको छ । मन्त्री थप भएपछि अब बागमती प्रदेशमा मुख्यमन्त्री पाण्डेसहित ६ सदस्यीय मन्त्रिमण्डल बनेको छ ।

यसअघि पाण्डेले आफू मुख्यमन्त्री भएकै दिन आन्तरिक मामिला तथा कानून मन्त्रीमा नेकपा एकीकृत समाजवादीका कृष्णप्रसाद खनाल, भौतिक पूर्वाधार विकास मन्त्रीमा काँग्रेसका कृष्णप्रसाद भँडेल, सामाजिक विकास मन्त्रीमा माओवादी केन्द्रकी कुमारी मोक्तानलाई मन्त्री बनाउनु भएको थियो ।

सत्ता गठबन्धनले अझै मन्त्रालयहरु फुटाएर मन्त्री थप्ने तयारी गरेको छ । यसअघि नेकपा एमालेले एकलौटी सरकार चलाएको बागमती प्रदेशमा एमाले विभाजन भई नेकपा एकीकृत समाजवादी गठन भएपछि गठबन्धन निर्माण गरी एमालेको सरकार ढलाइएको हो ।

एमालेको सरकार ढलेपछि काँग्रेस, माओवादी, समाजवादी र जसपाको समेत समर्थनमा पाण्डेको नेतृत्वमा सरकार बनेको थियो । सरकारबाट बाहिरिए पनि एमालेले संसदमा ठूलो पार्टीको भई प्रमुख प्रतिपक्षी दलको रुपमा अस्तित्वमा रहेको छ ।

टिप्पणीहरू