विप्लव, वैद्य, बाबुरामसँग पार्टी एकता हुन्छ : प्रचण्ड

विप्लव, वैद्य, बाबुरामसँग पार्टी एकता हुन्छ : प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले विभाजित सबै माओवादी शक्तिहरु छिट्टै एकताबद्ध हुने विश्वास व्यक्त गर्नुभएको छ । टुटफुट र विभाजनले कमजोर बनेको माओवादी आन्दोलनलाई केन्द्रीकृत गर्नु आजको आवश्कता भएको भन्दै उहाँले आफूले त्यसतर्फ प्रयास गरिरहेको पनि जानकारी दिनुभयो ।

आज पार्टी कार्यालय पेरिसडाँडामा विभिन्न पार्टीबाट माओवादी केन्द्रमा प्रवेश गरेका नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दै प्रचण्डले विप्लव, मोहन वैद्य किरण र बाबुराम भट्टराईलगायतका सच्चा क्रान्तिकारीहरुबीच छिट्टै एकता हुने दाबी समेत गर्नुभयो । उनीहरुसँग आफ्नो संवाद भइरहेको बताउँदै उहाँले सबै माओवादी मिलेर मौलिक क्रान्तिकारी धारलाई अघि बढाउन सकिने बताउनुभयो ।

अध्यक्ष प्रचण्डले आराम गर्दै, रमाइलो मान्दै (रोमान्स) जस्तो गरेर माओवादी क्रान्तिलाई अघि बढाउन नसकिने बताउँदै समाजवादतर्फ इमान्दार हुने कम्युनिष्टहरु ढिलोचाँडो पूरानो घरमा फर्किएर आउने विश्वास व्यक्त गर्नुभयो ।

‘मलाई विश्वास छ अहिले कुराकानी पनि चलिरहेको छ, किरणजीहरु, बाबुरामजीहरु, विप्लवजीहरु र अरु समाजवादी आन्दोलनप्रति, समाजवादी क्रान्तिप्रति इमान्दार हुने सबै कम्युनिष्टहरु फेरि एकपटक एकताबद्ध हुनैपर्छ, हामीले धेरै ठूलो संघर्ष र बलिदानीपछि संघीय लोकतान्त्रिक गणतन्त्रसम्म नेपाललाई ल्याएका छौँ, हामी जानु अझ धेरै टाढासम्म छ, त्यो यात्रा हामी सबैले आपसमा हातेमालो गेरर मात्रै पार गर्न सकिन्छ, एक्लै पार गर्छु भन्यो भने त्यसको नियत जेसुकै भए पनि नियती क्षतविक्षत हुनु बाहेक अर्को हुँदैन’, प्रचण्डले भन्नुभयो ।

प्रचण्डले एकै युग र एउटै कालखण्डमा धेरै प्रचण्ड हुन नसक्ने भन्दै विभाजित शक्तिहरु एकीकृत हुनुको विकल्प नरहेकोमा पनि जोड दिनुभयो । एउटा समयमा जनता, आन्दोलन, समय र संघर्ष, सही विचार र बलिदानबाट मात्रै प्रचण्ड पैदा हुनसक्ने उहाँको भनाइ छ । उहाँले प्रचण्ड व्यक्ति नभइ सही विचार, बलिदान, संघर्षको प्रतिक भएको पनि बताउनुभयो ।

’कसैले चाहँदैमा लहर चल्दैमा क्रान्ति हुने पनि होइन, फेरि प्रचण्ड भन्ने कुरा प्रचण्डले जन्माएको होइन, नेपाली जनताले जन्माएको, तपाईं हामी सबै लडेर निर्माण गरेको हो, प्रचण्ड व्यक्ति होइन, फेरि एउटै युगमा, एउटै कालखण्डमा थुप्रै प्रचण्ड हुनै सक्दैन, थुप्रै लेनिन, माओ पनि हुँदैन, एउटा समय र एउटा कालखण्डमा जनताले पैदा गर्ने हो, आन्दोलनले, संघर्षले, बलिदानले पैदा गर्ने हो, सही विचारले पैदा गर्ने हो, सही निर्णयहरुले पैदा गर्ने हो’, उहाँले भन्नुभयो।

अध्यक्ष दाहालले प्रतिक्रियावादीहरु माओवादी क्रान्तिको उपलब्धि उल्ट्याउने षड्यन्त्रमा लागेकाले पनि सच्चा कम्युनिष्टहरुको एकता आवश्यक भएको बताउनुभएको छ ।

टिप्पणीहरू