सेनामा भटाभट पुराना निर्णय उल्टिँदै
निवर्तमान प्रधानसेनापति पूर्णचन्द्र थापाले गरेका कतिपय निर्णय भटाभट उल्टिन थालेका छन् । स्वार्थ राखेर गरिएको निर्णय र बनाइएका नीतिलाई समयानुकूल सुधार गर्न खोजिएको बताइन्छ ।
पहिलेका चिफले गरेका कतिपय निर्णय कार्यान्वयनको निम्ति योग्य भए पनि केही साह्रै विवादास्पद भएकाले लागू गर्नु सेनाको हितमा नभएको भन्दै उक्त प्रक्रिया शुरु गरिएको हो । सैनिक स्रोतका अनुसार समयानुकूल सुधार गर्नुपर्ने भएकाले के कस्तो सुझाव छ ? भनेर तल्लो तहबाटै राय सुझाव माग्ने काम भएको छ । स्रोतको दाबी छ, ‘के के व्यवहारिक भएनन् भनेर सुझाव मागिएको सत्य हो ।’
यसअघि एक तारे जर्नेल बाबुराम श्रेष्ठको बढुवालाई रोकिएको थियो । तर नयाँ चिफ प्रभुराम शर्माको पदबहालीपछि अहिले उनको बढुवा भएको छ । बढुवापछि उनी कमाण्ड सम्हाल्न पोखरा पुगिसकेका छन् । यसअघिका अर्का एक तारे जर्नेल ईश्वरकान्त मैनालीलाई पनि मानार्थ बढुवाको लागि सिफारिस नगरेर थन्काइएको थियो ।
तर, उनीहरु सरहका अरु केही केहीलाई भने एक तारेबाट अवकास नदिई रोकेर केही समय राखिएको थियो । आफ्ना भनिएकाहरुलाई त्यतिबेला पनि प्रक्रिया मिलाएर दुई तारे जर्नेल बनाएर घर पठाइएको थियो । आफूखुशी अवसर दिने र खोस्ने काम भएको भन्ने गुनासो बढेपछि अहिले सेनाले कतिपय निर्णय उल्ट्याउन पहल गरेको हो ।
हुन तः त्यस्तो निर्णयको सिफारिस आर्मी चिफको मूल्याङ्कनभन्दा पनि पीएसओजले गर्नु पर्ने हो । तर, व्यवहारमा व्यक्तिगत इच्छालाई प्रणालीमा घुसारेर स्वार्थसिध्द गरिएको आरोप लागेको छ । अहिले तिनै प्रणाली र पध्दतिभन्दा बाहिर गएर व्यक्तिका विश्वासपात्रहरुको सिफारिसमा गरिएको कतिपय अव्यवहारिक निर्णयलाई व्यवहारिक बनाउन तल्लो तहसम्म सोधनी भएको स्रोतको दाबी छ । स्रोत भन्छ, ‘जस्टिफिकेशनसहितको सोधनी हो ।’
बाबुराम श्रेष्ठको हकमा यसअघि कोर्टमार्शल भएका अधिकृतहरुलाई बढुवा नदिने भन्ने आधारलाई टेकेर गरिएको पूर्ववर्ती सेनापति निकटस्थहरु बताउँछन् । तर त्यतिबेला कानुन विभाग (प्राड)को रायको आधारमा पनि श्रेष्ठलाई कारबाही गर्न नपर्ने हो । त्यति हुँदाहुँदै पनि कारबाही गरिएको अर्को पक्षको आरोप छ ।
हुन तः सेनाभित्र कानुन विभागको रायलाई सल्लाह र सुझावको रुपमा मात्र लिने गरिएको छ । कोर्ट मार्शलसँग न्यायाधीश सरहको अधिकार भएकाले कानुन विभागको रायको खासै अर्थ नहुने जानकारहरु बताउँछन् । कानुन विभाग कानुनी सल्लाहकार मात्र भएकाले कतिपय अवस्थामा कानुनले हुन्छ भनेको सिफारिस पनि कार्यान्वयन हुँदैन, कतिपय हुँदैन भनेको सिफारिस कार्यान्वयन हुने गरेको एकथरिको भनाइ छ ।
श्रेष्ठको हकमा त्यतिबेला कानुनले ठूलो दोष नदेखिएकाले ठूलो कारबाही गर्न नपर्ने राय दिएको थियो । तर चिफले निजको बढुवा नै रोक्का गरेपछि स्वार्थपूर्ण कार्य भएको अर्थ लागेको हो । यस्तो अवस्था अरुको हकमा गरिएको नदेखिएपछि अहिले उक्त निर्णय उल्टाइएको हो ।
हुन तः यस्तो खेल सेनाभित्र तल्लो तहसम्मको योजनामा बन्न थालेको भनिन्छ । सामान्य विवादमा आएका कुनै पनि मेजर जनरललाई कारबाही गरेर छिटो फाल्न पाए आफ्नो बढुवा छिटो हुने र अवसर प्राप्त हुने खेलमा कतिपय बेसिक अफिसरहरु नै संलग्न हुने गरेको संकेत पाइएको छ । श्रेष्ठको हकमा यसअघि गरिएको कारबाहीको निर्णय पछिल्तिरको खेलमा पनि उक्त संकेतले काम गरेको बताइन्छ । यस्तो हिसाब गर्ने टोली सेनाभित्र ठूलो रहेको आशंका छ ।
प्रधानसेनापति प्रभुराम शर्माको भारत भ्रमणपछि एक दुई वटा नीति र निर्णयमा ‘मेजर चेञ्ज’ हुन लागेको स्रोतको दाबी छ । अब महासेनानी वा एउटा अधिकृतले स्टाफ कलेज गरिसकेपछि कम्तिमा पनि प्रथम श्रेणीको अधिकृत भएर सेवानिवृत्त होओस् भन्ने उद्देश्यबमोजिमको नयाँ व्यवस्था गर्न लागिएको हो ।
निजामतीमा समेत सेवा निवृत्त हुने बेलामा सचिवको तहसम्मका कर्मचारीले एकाध दिनअगावै राजीनामा दिएर पेन्सन बढी बुझ्ने चलन रहेको सन्दर्भमा सेनामा मानार्थ बढुवाको लागि नयाँ कदम चाल्न लागिएको बताइन्छ ।
सेनामा निकै राम्रो कार्य गरेकाहरुलाई विशेष पदोन्नतिको व्यवस्था भने गरिँदै आएको छ । त्यस्तो व्यवस्थाअन्तर्गत एक महिना अगाडि एक तह बढुवा दिन मिल्ने छ । जुन यदाकदा दिईंदै आइएको थियो । तर,यसअघिका प्रमुख थापाको पालामा ती सबै रोकिए ।
त्यतिबेला स्टाफ कलेज गरेका र होनहार भनिएकाहरुले पनि प्रमुख सेनानीबाटै सेवानिवृत्त हुनुपर्यो । एकथरिले फाष्ट ट्र्याक बढुवाको कारणले पनि त्यसरी सेवानिवृत्त भएको बताएका छन् । त्यसरी घर गएका धेरै जनामध्ये प्रकाश अर्याल पनि एक हुन् ।
उक्त नियमको आधारमा भक्तपुरको शिक्षालयमा कार्यरतहरुमध्ये पनि धेरै जना घर गएका छन् । यसअघि राम्रो मान्छे भनेर उनीहरुलाई राम्रो ठाउँमा राखिएको थियो । तर अन्तिममा उनीहरु सबै लुरुलुरु घर जान बाध्य भएपछि सेनामा नैराश्यता उत्पन्न भएको बताइन्छ । स्रोत भन्छ, ‘उनीहरु सबैले प्रमुख सेनानीको दर्जाबाटै घर जानुपरेको छ ।’
अहिलेका नयाँ रेगुलर अफिसरहरुलाई उक्त विषयले झस्काइदिएपछि सेनामा उनीहरुको मनोबल बढाउनको निम्ति नीतिगत सुधार गर्न लागिएको भनिएको छ । अहिले त्यहि विषयमा सुधार गर्ने तयारी गरिएको एक जना सैन्य अधिकारीले बताएका छन् । नियममा रहेको सेवा निवृत्त हुनु अगाडि एक तह बढुवा दिनलाई कुनै गाह्रो नभएको उनको दाबी छ ।
त्यहि व्यवस्थामा टेकेर जर्नेल ईश्वरकान्तलाई घर जाते जाते दुई तारे फुलीको मानार्थ दिइएको हो । ईश्वरको बढुवा भए पनि उनलाई अनर अर्थात् सम्मान मात्रै गरिएको हो छ । उनले दुई तारे जर्नेलको फुली लगाए पनि मुश्किलले एक महिना जागिर खान पाएका थिए । जबकि त्यहि व्यवस्था लागू गर्न ईश्वरलाई पूर्णचन्द्र थापाले रोकिदिएका थिए । अहिले यी लगायतका थापाका निर्णयलाई उल्टाउन सेनाले तयारी थालेको हो ।
टिप्पणीहरू