देउवा ढुक्क, शेखर विश्वस्त

देउवा ढुक्क, शेखर विश्वस्त

नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा सभापतिका लागि भएको निर्वाचनमा कुनै पनि उम्मेदवारले बहुमत ल्याउन नसकेपछि प्रतिस्पर्धा दोस्रो चरणमा पुगेको छ । पहिलो चरणको निर्वाचनमा बढी मत ल्याएका प्रधानमन्त्री शेरबहादुर देउवा र शेखर कोइरालाबीच दोस्रो चरणमा प्रतिस्पर्धा शुरु भएको हो ।

पहिलो चरणमा देउवाले सबैभन्दा बढी २२ सय ५८ मत ल्याए पनि जितका लागि पर्याप्त भएन । १७ सय २ भोट ल्याएका शेखर देउवाभन्दा ५ सय ५६ मतले पछाडि देखिए । यस्तो अवस्थामा तेस्रो र चौथो स्थानमा रहेका प्रकाशमान सिंह र विमलेन्द्र निधि दोस्रो चरणको निर्वाचनमा निर्णायक बनेका हुन् । सिंहले ३ सय ४७ र निधिले २ सय ५० मत ल्याएका छन् । यहि मत दोस्रो चरणको चुनावमा निर्णायक बनेको हो ।

८२ मतले पराजित देउवालाई कुनै एक उम्मेदवारले समर्थन गरे जीत निश्चित छ । तर शेखरलाई भने सभापतिमा निर्वाचित हुन सिंह र निधि दुबैको साथ अनिवार्य बनेको छ । त्यसैले दोस्रो चरणको निर्वाचनअघि सभापतिका दुबै प्रत्याशीमध्ये को बलियो भन्ने चर्चा समेत शुरु भएको छ । तर, संस्थापन इतर समूह छिन्नभिन्न भएकाले देउवाको पक्षमा नतिजा जाने सम्भावना बढेको छ ।

पहिलो चरणको निर्वाचनमा संस्थापन इतर खेमाबाट तीन उम्मेदवार प्रतिस्पर्धामा थिए । जसमध्ये सिंह र कल्याण गुरुङ तेस्रो र पाँचौं हुँदै प्रतिस्पर्धाबाट बाहिरिएका छन् । उनीहरुले देउवालाई समर्थन गर्ने निर्णय गरेकाले देउवा थप बलियो देखिएका छन् ।

त्यसो त, देउवा स्वयम् संसदीय राजनीतिका चतुर खेलाडी हुन् । इतर खेमा छिन्नभिन्न भएको मौका पारेर सिंहलाई आफ्नो पक्षमा ल्याउन उनी सफल भएका छन् । आज बिहान अन्तिम मत परिणाम सार्वजनिक नहुँदै उनले आफ्ना विश्वासपात्र गृहमन्त्री बालकृष्ण खाँणलाई सिंहसँग भेट गर्न खटाएका थिए ।

सिंहको सकारात्मक सन्देश लिएर खाँण बालुवाटार फर्केलगत्तै प्रधानमन्त्री पछि आफैँ चाक्सीबारी पुग्नुभएको हो । त्यहाँ सिंह र देउवाबीच महत्वपूर्ण सहमति जुटेको बताइएको छ । छलफलमा अहिले सिंहले देउवालाई सघाउने र देउवाले पनि सिंहका चासो सम्बोधन गर्ने गरि दुइपक्षीय सहमति बनेको हो ।

यसबीचमा निधि समेत देउवालाई सघाउन तयार भएका छन् । कुनैबेला देउवाका सारथी मानिएका निधि १४ औं महाधिवेशनमा आफैँ सभापतिको प्रतिस्पर्धामा थिए । उनले पनि देउवालाई सघाउने निर्णय गरेका हुन् । पहिलो चरणमा नतिजा नआए संस्थापन इतर खेमालाई साथ दिने निर्णय गरेका निधि अन्ततः देउवाकै समर्थनमा उभिन पुगेका छन् ।

यता, कोइरालाले भने परिणाम नआउञ्जेल हार नमान्ने बताएका छन् । उनी दोस्रो चरणमा आफ्नो विजय हुनेमा विश्वस्त छन् । केही बेरअघि पत्रकार सम्मेलन गर्दै उनले मतदाताले गुट र भागबण्डा नहेरी काँग्रेस रुपान्तरणका पक्षमा भोट हाल्नेमा आफूलाई विश्वास लागेको बताएका छन् ।

तर, नेतृत्व परिवर्तनमा जोड दिँदै आएका सिंह र निधि नै देउवाको पक्षमा खुलेर लागेपछि कोइरालाका लागि दोस्रो चरणको निर्वाचनमा अहिले प्राप्त गरेको मत जोगाउन समेत कठिन हुने देखिएको छ । प्रतिस्पर्धाको निर्णायक घडीमा आइपुदा उनले वरिष्ठ नेता रामचन्द्र पौडेलको समर्थन समेत पाउन सकेका छैनन् । पौडेलले आफूलाई मन लागेको उम्मेदवारलाई मतदान गर्न प्रतिनिधिहरुलाई आग्रह गरेपछि कोइराला थप कमजोर बनेको आँकलन गरिएको छ ।

टिप्पणीहरू