चार वर्षमा बन्नु पर्ने पुल आठ वर्षसम्म उस्तै

चार वर्षमा बन्नु पर्ने पुल आठ वर्षसम्म उस्तै

कैलालीमा चार वर्षमा बनिसक्नुपर्ने एउटा पक्की पुल आठ वर्षसम्म पनि बनेको छैन । हुलाकी सडक खण्डअन्तर्गत भजनी नगरपालिकास्थित कान्द्रा नदीको पुल आठ वर्षसम्म अलपत्र भएको हो ।

ठेकेदारको लापरबाहीका कारण चार वर्षमै बन्नु पर्ने पुलको निर्माण आठ वर्षसम्म पूरा हुन नसकेको हुलाकी सडक आयोजनाले जनाएको छ ।

‘चार वर्षमा निर्माण गरिसक्नु पर्ने पुल अहिलेसम्म पूरा हुन सकेको छैन,’ हुलाकी सडक आयोजना धनगढीका इन्जिनियर पदम मडैले भने, ‘यसमा ठेकदारको लापरबाही छ ।’

उनका अनुसार पुलको एउटा पिल्लरको डिजाईन परिवर्तन गरिनु पर्ने भएपछि सडक आयोजनाले नै एक वर्ष म्याद थप गरिदिएको थियो ।

तर, सो समयमा पनि ठेकेदार कम्पनीले पुल निर्माण नगरेपछि फेरि दुई पटक म्याद थप गरिएको हो । तर अझै पनि पुल निर्माण सम्पन्न नभएपछि सडक निर्माणमा बाधा पुगेको छ ।

२०७१ सालमा हुलाली सडक आयोजना र लामा, साल्पा छर्पा कन्स्ट्रक्सन जेभिबीच चार वर्षमा पुल निर्माण गरिसक्ने सम्झौता भएको थियो । चार करोड ४२ लाख रुपैयाँमा ठेक्का परेको उक्त पुल २०७५ असार मसान्तसम्म निर्माण सम्पन्न गरिसक्नु पर्ने सम्झौता भएको थियो ।

तोकिएको मितिमा पुल नबनेपछि अन्तिम पटकका लागि चैत २०७८ सम्मका लागि पुल निर्माणको म्याद थप गरिएको छ । सो समयभित्र पनि पुल निर्माण नभए ठेक्का सम्झौता तोडिने र ठेकेदार कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रिया अगाडि बढाइने आयोजना स्रोतले बताएको छ ।

‘ठेकदार कम्पनीले चैतसम्म पुल निर्माण गरी सक्ने प्रतिबद्धता जनाएको छ,’ इञ्जिनियर मडैले भने, ‘यदि चैतसम्म पनि पुल बनेन भने ठेक्का सम्झौता तोडेर उनलाई कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाइनेछ ।’

टिप्पणीहरू