दुर्गममा चरम स्वास्थ्य संकट, मोबाइलको बत्ति बालेर सुत्केरी गराइयो

दुर्गममा चरम स्वास्थ्य संकट, मोबाइलको बत्ति बालेर सुत्केरी गराइयो

मुगुका स्वास्थ्य चौकीमा सामान्य ज्वरो आउँदा चाहिने सिटामोलसमेत पाइन छाडेको छ । सोरु गाँउपालिकाका स्वास्थ्य चौकीमा सिटामोल समेत सकिएको छ ।

चिसो र मध्यपुसमा हिमाली जिल्लामा औषधि अभाव भएको हो । औषधि अभावका कारण उपचारका लागि स्वास्थ्य चौकीमा आएका बिरामीहरू बिना उपचार फर्कने गरेका छन् ।

सबै तहका सरकारले हरेक वर्ष स्वास्थ्य क्षेत्र र औषधि खरिदमा लाखौँ र करोडौं रुपैयाँको बजेट विनियोजन गरे पनि सोरु गाँउपालिकामा वर्षैभरि औषधि अभाव भइरहने सोरुकोटका बलिराज शाहीले बताए ।

यसबाट दुर्गम भेगका सर्वसाधारण सामान्य बिरामी हुँदा समेत ज्यान गुमाउन बाध्य छन् । स्वास्थ्य चौकी नार्थपुका अहेब टिकाराज अर्यायका अनुसार गाउँपालिकाबाट प्राप्त हुने औषधिले गत वर्ष जम्माजम्मी तीन महिना धानेको थियो ।

गाउँपालिकाले यो वर्ष अहिलेसम्म कुनै पनि तहको सरकारबाट औषधि प्राप्त गरेको छैन । अहिले गाउँमा सिटामोल समेत सकिएको उहाँको भनाइ छ । औषधिका लागि धेरै पटक पालिकासमक्ष माग गरिए पनि नपाएको उहाँको गुनासो छ ।

चौकीमा कहिलेकाहीँ सुत्केरी गराउन आउँदा समेत पर्याप्त सामग्रीको अभाव हुने गरेको छ । ‘विद्युत नहुँदा मोबाइलको लाइट बालेर सुत्केरी गराउन बाध्य छौं,’ स्वास्थ्य चौकी नार्थपुका अहेब अर्यायले भन्नुभयो । हाल स्वास्थ्य चौकीका स्टोर खाली देखिन्छन् ।

टिप्पणीहरू