बेलहियामा यात्रुसँगै कोरोना पनि छिर्यो
नेपाल–भारत सीमानाका बेलहिया हुँदै आएका एक सयबढी नेपालीमा कोरोना देखिएको छ । रोजगारी र भ्रमणको लागि भारतका विभिन्न क्षेत्रमा गएर फर्केका १ सय २ जनामा कोरोना संक्रमण देखिएको बेलहियास्थित हेल्थ डेस्कको तथ्याङ्कले पुष्टि गरेको हो ।
हिजो ५ सय ३२ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको बेलहिया प्रहरीले बताएको छ ।
भारतमा पछिल्लो समय कोरोना संक्रमणको दर बढेपछि यसको असर नेपालमा पनि देखिन थालेको हो । बेलहियामा मंगलबार २ सय जनाको एन्टिजेन परीक्षण गर्दा १७ जना, बुधबार २ सय ८० को परीक्षण गर्दा ३५ जनामा संक्रमण भेटिएको इलाका प्रहरी कार्यालय, बेलहियाका प्रमुख प्रहरी निरीक्षक नवीन पौडेलले जानकारी दिनुभयो ।
लामो समय भारत बसेर आउनेहरूको सीमा विन्दुमै परीक्षण भइरहेको छ । पछिल्लो एक साताबाट संक्रमितको संख्या बढेको हो । भारतबाट आउनेमध्ये दैनिक करिब ३ सय जनाको एन्टिजेन परीक्षण गर्दा २० देखि २५ जनामा संक्रमण पुष्टि डेस्कमा खटिएका रेडक्रसका इञ्चार्ज अभिनव निरौलाको भनाइ छ ।
टिप्पणीहरू