सिन्धुपाल्चोकमा पशुचौपाया भटाभट मर्न थाले

सिन्धुपाल्चोकमा पशुचौपाया भटाभट मर्न थाले

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका २ बतासेमा फैलिएको अज्ञात रोगबाट धमाधम पशुचौपाया मर्न थालेका छन् ।

एक सातादेखि फैलिएको अज्ञात रोगको संक्रमणबाट दर्जनभन्दा बढी चौपाया मरिसकेका छन् । कतिपय चौपाया रोगका कारण थला परेका छन् । अज्ञात रोगले धमाधम गाइवस्तु मर्न थालेपछि किसानहरु चिन्तित भएका छन् ।

स्थानीय कृष्णबहादुर थापाका अनुसार एक सातादेखि चौपायामा अज्ञात रोग देखिएको छ भने मर्ने क्रम पनि रोकिएको छैन । उनले भने, ‘चौपायाको मुखबाट र्याल आउने, काँप्ने, छटपटाउने, घाँस पानी नखाने, खुट्टा सुनिने, मुखमा घाउ हुने, र झोक्राएर बस्ने जस्ता लक्षण देखिने गरेको छ ।’ उनका अनुसार त्यस्तो लक्षण देखिएको केही समयपछि चौपायाहरु मर्ने गरेका छन् ।

अहिले पनि पशु मर्ने क्रम रोकिएको छैन । गाउँभरिका अधिकांश चौपायामा संक्रमण फैलिएको छ । रोगका कारण गाई, गोरु, भैँसी, बाख्रालगायत सबैजसो पशुचौपायाको मृत्यु भएको हो ।

तत्काल रोग पत्ता लगाएर उपचारतर्फ गम्भीरता देखाउन स्थानीय पशुपालकले आग्रहसमेत गरेका छन् । मरेका पशु चौपाया कुन रोगबाट मरेका हुन् वा अन्य कारणले भन्नेबारे अहिले थाहा हुन सकेको छैन । खोरेत लागेको हुनसक्ने पशुपालक किसानहरुको अनुमान छ ।

पशु चौपाया मर्ने र बिरामी भएको भन्ने खबरलगत्तै रोग नियन्त्रणका लागि स्वास्थ्य टोली आज पठाउने तयारी गरिएको नगरपालिकाले जनाएको छ ।

टिप्पणीहरू