जुवा खेलाएर राजश्व नबुझाउने विदेशी मध्यराति विमानस्थलमा समातिए
चौबिसै घण्टा जुवा खेलाएर अरबौं उठाउने तर नियमानुसारको राजश्व नबुझाउने विदेशीलाई विमानस्थलमा रोकिएको छ । राजश्व नतिरिकनै विदेश हिँड्न लागेका अमेरिकी नागरिकलाई संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको समन्वयमा प्रहरीले विमानस्थलबाट समातेको हो ।
अमेरिकी नागरिक माइकले भैरहवाको टाइगर प्यालेस रिसोर्टमा दुई वटा क्यासिनो सञ्चालन गरेका छन् । उनले बुझाउनुपर्ने कर नबुझाएपछि समातिएको मन्त्रालय स्रोतले बताएको छ । उनले सरकारलाई १३ करोड रुपैयाँ तिर्न बाँकी छ ।
मुलुकभर रहेका १० वटामध्ये ८ वटा क्यासिनोले राजश्व बुझाएका छन् । राजश्व नबुझाउनेको लाइसेन्स जफत गर्ने भनिएको छ । जफत भएको अवस्थामा लाइसेन्स प्रक्रिया शुरुदेखि थाल्नुपर्ने हुन्छ । त्यही झण्झटिलो अवस्थालाई ध्यानमा राखेर अरुले राजश्व बुझाएका हुन् ।
तर अमेरिकी नागरिकले आफूले सञ्चालन गरेको क्यासिनोको करोडौं राजश्व अपलन गर्ने उद्देश्यले मुलुक छाड्न खोजेपछि हिजो राति साढे १० बजे विमानस्थलमा समातिएको हो । ‘जुवा खेलाएर अरुको सम्पत्ति लुट्ने तर कर नतिर्नेलाई छाड्न दबाब आए पनि मन्त्रालय टसको मस भएन,’ उच्च स्रोतले बतायो ।
टिप्पणीहरू