२४ घण्टामा ८ हजार बढी संक्रमित, १५ जनाको ज्यान गयो

२४ घण्टामा ८ हजार बढी संक्रमित, १५ जनाको ज्यान गयो

पछिल्लो २४ घण्टामा ८ हजार १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने १५ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ७३६ जनाको पीसीआर परीक्षण गर्दा ५ हजार ८१६ जना र ६ हजार ७२ जनाको एन्टीजेन परीक्षण गर्दा २ हजार २०१ जना गरी ८ हजार १७ जनामा संक्रमण पुष्टि भएको हो ।

जसमध्ये संक्रमणको आधा हिस्सा उपत्यकामै देखिएको छ । पछिल्लो २४ घण्टामा उपत्यकामा तीन हजार एक सय ४३ जना संक्रमित भेटिएका छन् ।

तीमध्ये काठमाडौंमा दुई हजार चार सय दुई जना संक्रमित थपिएका छन् । भक्तपुरमा दुई सय २० र ललितपुरमा पाँच सय २१ जना पुष्टि भएका हुन् ।काठमाडौंमा सक्रिय संक्रमितको संख्या ३८ हजार आठ सय ९५ पुगेको छ । भक्तपुरमा पाँच हजार छ सय १४ र ललितपुरमा १० हजार तीन सय ९० जना सक्रिय संक्रमित छन् ।

यो अवधिमा पाँच हजार दुई सय ९२ जना संक्रमणमुक्त भएका छन् । हाल मुलुकभर कोरोना संक्रमण निको हुने दर ८९ दशमलव १ प्रतिशत रहेको छ ।

मुलुकभर अझै ९० हजार पाँच सय ७६ जना सक्रिय संक्रमित छन् । आज १५ जनाले ज्यान गुमाएका छन् भने कोरोनाबाट हालसम्म मृत्यु हुनेको संख्या ११ हजार छ सय ८७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थपिएका संक्रमितमध्ये एक हजार नौ सय ८४ जना युवायुवती छन् भने दुई सय ७४ जना किशोरकिशोरी हुन् । त्यस्तै, ११ वर्षमुनिका एक सय ३१ जना संक्रमित थपिएका छन् । तीन सय पाँच जना वृद्धवृद्धामा कोरोना संक्रमण पुष्टि भएको छ ।

टिप्पणीहरू