कोरोनाले फोक्सोमा पारेको क्षति पत्ता लगाउने मेशिन आयो
कोरोना भाइरस संक्रमण भइसकेका व्यक्तिको फोक्सोमा भएको क्षति पत्ता लगाउन नयाँ प्रविधिको आएको छ । बेलायतमा विकास भएको यस प्रविधिले कोभिड भएका मानिसको फोक्सोमा सहजै पत्ता नलाग्ने गरी भएको क्षति पत्ता लगाएको हो ।
अधययनकै क्रममा रहेको यस प्रविधिको अभ्यास पनि भैसकेको छ । नियमित जाँचबाट नदेखिने फोक्सोको अस्वाभाविक रुपबारे अध्ययनका लागि वैज्ञानिकहरूले नवीन ग्याँस स्क्यान प्रक्रिया अपनाएका थिए । कोभिडको प्रारम्भिक चरणमा अस्पतालको उपचार आवश्यक नभएका तर पछि लामो समयसम्म श्वासप्रश्वासको समस्या भएका ११ जनामा अध्ययन गरिएको थियो । यो प्रविधिमार्फत अध्ययन गरिएकोमा नियमित जाँचबाट पत्ता नलाग्ने गरी क्षति भएको देखाएको हो ।
यसबारे अझै बृहत् र विस्तृत अध्ययन भइरहेको जनाइएको छ । कोभिड भएपछि अस्पताल भर्ना भएका मानिसहरूमा गरिएको यसअघिकै अध्ययनमा आधारित भएर नयाँ अध्ययन थालिएको थियो ।
अनुसन्धानकर्ताहरूले अध्ययनबाट दीर्घ कोभिड भएका प्रायजसो बिरामीलाई किन श्वासप्रश्वास सम्बन्धी समस्या हुन्छ भन्नेबारे थप प्रष्ट पार्ने बताएका छन् । जाँचमा अरू कुनै रोग नदेखिए पनि कोरोना भाइरस संक्रमण लक्षण कयौँ हप्तासम्म निको नहुने अवस्थालाई दीर्घ कोभिड भन्ने गरिएको छ ।
टिप्पणीहरू