कोरोना महामारी : संक्रमणदर घटे पनि मृत्युदर उस्तै

कोरोना महामारी : संक्रमणदर घटे पनि मृत्युदर उस्तै

कोरोनाको तेस्रो लहर सुरु भएपछि दैनिक १२ हजारसम्म भेटिएको संक्रमणदर घटेर अहिले एक हजारमा आइपुगेको छ । तथापि घटेको संक्रमणदरको अनुपातमा मृत्युदर आउन सकेको छैन ।

पछिल्ला केही दिनमा संक्रमितको संख्या घटे पनि मृत्युदर भने उस्तै छ । भेटिएका संक्रमितमध्ये सबैभन्दा धेरै काठमाडौं उपत्यकामा देखिएका छन् ।

पछिल्लो २४ घण्टामा उपत्यकामा दुई सय ६५ जनामा कोरोना संक्रमण देखिएको छ । तीमध्ये काठमाडौंमा दुई सय तीन जना संक्रमित थपिएका हुन् ।

भक्तपुरमा १७ र ललितपुरमा ४५ जनामा संक्रमण पुष्टि भएको छ । उक्त अवधिमा मुलुकभर एक हजार एक सय २८ जना संक्रमित भेटिएका छन् । २० हजार नौ सय ८९ जनामा परीक्षण गर्दा उक्त संख्या भेटिएको हो ।

यो अवधिमा दुई हजार दुई सय १५ जना संक्रमणमुक्त भएका छन् । हाल मुलुकभर कोरोना संक्रमण निको हुने दर ९६ प्रतिशत रहेको छ । मुलुकभर अझै २७ हजार चार सय ४१ जना सक्रिय संक्रमित छन् ।

आज १४ जनाले ज्यान गुमाएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार आठ सय ७८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थपिएका संक्रमितमध्ये एक सय ८५ जना युवायुवती छन् भने ३९ जना किशोरकिशोरी हुन् । त्यस्तै, ११ वर्षमुनिका २२ जना छन् र ५५ जना वृद्धवृद्धामा कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौंमा सक्रिय संक्रमितको संख्या छ हजार छ सय ६९ पुगेको छ । भक्तपुरमा एक हजार चार सय २६ र ललितपुरमा तीन हजार चार सय ४८ जना सक्रिय संक्रमित छन् ।

टिप्पणीहरू