प्रचण्ड-बाबुरामको विचलनका कारण जनयुध्द असफल भयोः विप्लव

प्रचण्ड-बाबुरामको विचलनका कारण जनयुध्द असफल भयोः विप्लव

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले प्रचण्ड-बाबुरामको विचलनका कारण जनयुध्द असफल भएको बताएका छन् । २७ औं जनयुध्द दिवसको अवसरमा उनले सो धारणा व्यक्त गरेका हुन् ।

जनयुध्दले नेपाली राजनीतिमा अभूतपूर्व प्रभाव पारेको भएपनि केही नेताको विचलनका कारण वैज्ञानिक समाजवाद प्राप्तिको चाहना अधुरै रहेको उनको भनाइ छ ।

उनले भने, ’जनयुध्दले नेपाली राजनीतिमा अभूतपूर्व प्रभाव र परिवर्तन ल्यायो । श्रमिक जनताले आफ्नो मुक्ति र राष्ट्रिय स्वाधीनताका लागि गरेको ऐतिहासिक विद्रोहले पहिलोपटक जनताको सत्ता, जनताको सेना,जनताको न्यायालय, शिक्षा,स्वास्थ्य,अर्थसम्बन्धहरू निर्माण गर्न सफल भएको थियो । तर प्रचण्ड-बाबुरामलगायत नेताहरूको विचलनका कारण जनयुद्ध अपूर्णतामा टुङ्गियो ।’

संसदवादी तत्वहरू आफ्नो तुच्छ कुर्सीस्वार्थ पूरा गर्न एमसीसीजस्ता घोर राष्ट्रघाती सम्झौता लाद्न लागि परेको उनको आरोप छ । सत्तामा बसेका नेताहरुवीच देश र जनताको आवश्यकताभन्दा पनि आफ्नो कुर्सी जोगाउने खेल भइरहेको उनले बताए ।

साथै उनले तीन बुँदे सहमतिमा पार्टी नेता तथा कार्यकर्तामाथि लागेका मुद्दा फिर्ता गर्न र कारागारमा रहेका कार्यकर्तालाई रिहा गर्न सरकारलाई जोड दिएका छन् ।

टिप्पणीहरू