“दु:ख दिने” सत्ता सहयात्रीहरुप्रति प्रधानमन्त्रीको दुखेसो
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आफूलाई लागेको कुरा दाँयाबाँया नसोची सिधै भन्दिनुहुन्छ । धेरै भूमिका नबाँधी ठाडै विषयमा प्रवेश गर्ने र भन्नुपर्ने कुरा फ्याट्ट भनिहाल्ने उहाँको शैली हो । पछिल्लो समय एमसीसी र पाँचदलीय गठबन्धनमा उत्पन्न विवादबारे हुने छलफलहरुमा पनि देउवाको प्रष्ट भनाइ आउने गरेको छ – एमसीसी पेश गरौँ,गठबन्धन पनि कायम राखौँ ।
एमसीसीको संसदीय अनुमोदनलाई लिएर गठबन्धनभित्रको विवादले राजनीतिक ध्रुवीकरण बढेका बेला प्रधानमन्त्री देउवाले हिजो विभिन्न पक्ष र नेताहरुसँग छलफल गर्नुभयो । हिजै क्याबिनेट बैठक पनि राख्नुभयो । क्याबिनेटमा राजनीतिक विषयमा केही नबोल्नुभएका देउवाले लगत्तै केही मन्त्रीहरुलाई बोलाएर छलफल गर्नुभयो । मन्त्रीहरुसँगको कुराकानीमा पनि सदाझैँ उहाँले प्रष्टसँग एक वाक्यमा भन्नुभयो- एमसीसी संसदमा इन्डोर्स गरेर जाऊँ !’
‘मलाई त थाहा पनि थिएन,एमसीसी संसदमा लैजानुपर्ने बनाइएको रहेछ । म त यो होल प्रोसेसमा आउटअफ रिङ्गमा छु । क-कसले के-के गरे, अन्तिममा मेरो टाउकामा आयो’,
एक मन्त्रीका अनुसार प्रधानमन्त्री देउवाले पूर्वप्रधानमन्त्री केपी ओलीका पालामा एमसीसी गिजोलिएको र त्यसलाई पार लगाउन अहिले सकस परिरहेको पनि बताउनुभएको थियो । ‘मलाई त थाहा पनि थिएन,एमसीसी संसदमा लैजानुपर्ने बनाइएको रहेछ । म त यो होल प्रोसेसमा आउटअफ रिङ्गमा छु । क-कसले के-के गरे, अन्तिममा मेरो टाउकामा आयो’, सहभागी एक मन्त्रीले देउवाको कुरा सुनाउँदै भने ‘यो पार्लियामेन्टमा आउने इश्यु नै थिएन,ओलीले घुसाए । अहिले मलाई अप्ठेरो पारेका छन् ।’
एमसीसीलाई आन्तरिक राजनीतिको दाउपेचको मामला बनाएकोमा प्रधानमन्त्री देउवा गठबन्धनका अन्य दल र नेतासंग पनि सन्तुष्ट नदेखिएको ती मन्त्रीले बताए । अन्तर्राष्ट्रिय सम्बन्धका बारेमा संवेदनशील हुनुपर्नेमा उहाँको जोड थियो । कमिटमेन्ट गरिसकेपछि त्यो पूरा गर्नु आफ्नो दायित्व हुने भन्दै उहाँले त्यसैकारण अहिले आफू अप्ठेरोमा परेको गुनासो मन्त्रीहरुलाई सुनाउनुभयो । ‘पास-फेल सदनको कुरा भयो,तर डेमोक्रेटिक प्रोसेसमा लैजानुपर्छ भन्नेमा उहाँ प्रष्ट हुनुहुन्छ’, देउवाको कुरा सुनाउँदै मन्त्रीले भने ।
बताइएअनुसार कुराकानीका क्रममा देउवाले प्रचण्डको भूमिकाप्रति पनि असन्तुष्टि जनाउनुभएको थियो । ‘पहिले नै पास गर्न मन थिएन भने पाँच महिनाको समय किन मागेको ? म पास गर्दिन भनेर त्यतिबेलै पोजिसन क्लियर गरेको भए हुन्थ्यो । अहिले आएर अर्को कुरा गर्नु उहाँको ताल ठीक भएन’ देउवाको भनाइ उद्धृत गर्दै सहभागी मन्त्रीले भने ।
‘पहिले नै पास गर्न मन थिएन भने पाँच महिनाको समय किन मागेको ? म पास गर्दिन भनेर त्यतिबेलै पोजिसन क्लियर गरेको भए हुन्थ्यो ।”
तथापि, देउवाले गठबन्धनप्रति आफू पूरै प्रतिवध्द रहेको बताउनुभएको थियो । ‘म गठबन्धनप्रति कमिटेड छु, केपी ओलीले यो सरकारलाई समर्थन गर्दैनन्,म उनको सरकारमा जाने कुरा पनि भएन । उनीसंग गठबन्धन हुँदैन । तर,एमसीसी पास गर्न पर्यो’, देउवाको भनाइ थियो । तर, छलफलका क्रममा प्रधानमन्त्रीले मन्त्रीहरुलाई कुनै दबाब नदिएको उनले बताए ।
कुराकानीको अन्त्य गर्दै प्रधानमन्त्रीले भन्नुभयो, ‘प्रचण्ड र माधवजीको कुरा उतिबेला पनि भोकल्ली आएको थिएन ठीक छ,तर केपी ओलीले त ल्याएको हो नि । म ओलीलाई भेट्छु अनि त्यसपछि तपाईंहरुलाई कन्फ्युजन गर्दिन ।’ त्यत्ति भनेर निस्कनुभएका देउवा साँझ पत्नीसहित बालकोट पुग्नुभएको थियो ।
टिप्पणीहरू