एमसीसी लफडाले माओवादी बैठक प्रभावित, नारायणकाजीको छुट्टै दस्तावेज आउने
अमेरिकी सहयोग परियोजना एमसीसीका कारण आन्तरिक विवादमा फसेको सत्तारुढ नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठकका लागि यसअघि नै तय भएका एजेण्डा प्रभावित हुने भएका छन् ।
गत पुस १३–१९ मा सम्पन्न आठौं महाधिवेशनको म्यान्डेट तथा ४ फागुनको संसदीय दल बैठकको निर्णयविपरीत अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकाएक एमसीसी अनुमोदन गराउने निर्णय लिएपछि यसअघि तय भएका पदाधिकारी, स्थायी कमिटीदेखि केन्द्रीय सदस्यको मनोनयनसम्मका एजेण्डा प्रभावित हुने भएको हो ।
‘मोटामोटी रुपमा महाधिवेशनबाट बाँकी रहेका सांगठनिक कार्यविभाजन, स्थानीय तह निर्वाचनका एजेन्डा सुरुदेखि नै तय भएका हुन्,’ नेता देव गुरुङले भन्नुभयो, ‘साथै, अब पछिल्लो समयमा बहसमा आएको एमसीसीका बारेमा पनि पक्कै बहस हुने नै छ, त्यसबारेमा पार्टीभित्र देखा परेका फरकमतका बारेमा स्वभाविक रुपमा छलफल र बहस हुने देखिन्छ ।’
उहाँका अनुसार महाधिवेशनपछिको सांगठनिक कार्यविभाजन र स्थानीय तह निर्वाचनलाई प्राथमिकतामा राखेर केन्द्रीय कमिटी बैठक टुंग्याउने निधो गरिएको थियो । सो विषयमा छलफल गर्नका लागि फागुन २ र ८ गतेका लागि तय भएको बैठक स्थगित गरिएको थियो । एमसीसीका कारण सत्तारुढ गठबन्धन नै अप्ठयारोमा परेको बेला बोलाईएका दुवै बैठक स्थगित गरी फागुन २० गतेका लागि केन्द्रीय समितिको बैठक तेस्रो पटक आह्वान गरिएको हो ।
तर, महाधिवेशन र संसदीय दलको निर्णयविपरीत ‘व्याख्यात्मक घोषणा’ को भरमा एमसीसीको पक्षमा मुख्यतः अध्यक्ष प्रचण्डले पार्टीलाई उभ्याएपछि आन्तरिक विवाद ‘विभाजनको तहसम्म’ पुगेको विश्लेषण भइरहेको बेला आजबाट केन्द्रीय कमिटी बैठक बस्दैछ ।
प्रचण्डको निर्देशन अस्वीकार गर्दै पूर्वसभामुख कृष्णबहादुर महरा, पूर्वमन्त्रीद्वय जयपुरी घर्तिमगर र रेखा शर्मासहित यशोदा सुवेदी गुरुङले बैठक बहिष्कार गरेका थिए । प्रतिनिधिसभा बैठकमा उपस्थित भए पनि पूर्वमन्त्री गिरिराजमणी पोखरेल र सांसद अञ्जना बिशंखेले ‘हुन्न’ भन्दै विपक्षमा मत प्रकट गरेपछि माओवादीमा एमसीसी चर्को विवादको विषय बनिरहेको बेला बस्न लागेको बैठकले गर्ने निर्णयलाई चासोका साथ हेरिएको छ ।
बैठकमा नारायणकाजी श्रेष्ठले एमसीसी अनुमोदनका विषयलाई लिएर लिखित रुपमा फरक मत राख्ने बुझिएको छ । ‘एमसीसीको बारेमा पार्टी नेतृत्वले लिएको निर्णयप्रति आपत्ति जनाउँदै आउनुभएका नारायणकाजी कमरेडले आज बैठकमा फरक मत दर्ज गराउनु हुनेछ,’ श्रेष्ठ निकट केन्द्रीय सदस्य जीवन गौतमले भन्नुभय, ‘उहाँको लिखित फरक मतलाई पार्टी नेतृत्व र बैठकले कसरी लिनेछ, त्यही अनुसार आगमी रणनीति तय हुनेछ ।’
महरा, गुरुङसहित लिलामणि पोखरेल, लेखनाथ न्यौपानेले पनि बैठकमा लिखित रुपमा नै फरक मत राख्न सक्ने बताइको छ । बैठक राष्ट्रियसभा गृह, प्रदर्शनीमार्गमा दिउँसो १ बजेदेखि सुरु हुने माओवादीले जनाएको छ । यसअघि बैठक बिहान ११ बजे बोलाइएको थियो ।
टिप्पणीहरू