प्रसूतिगृहमा मध्यराति भालु पस्यो
ताप्लेजुङको जिल्ला अस्पतालस्थित प्रसूतिगृह भवनमा भालु छिरेको छ । गए राति मध्यरात कालो रंगको भालु छिरेको हो ।
जंगलबाट आएको भालु राति ढोका खुल्ला भएकाले भवनभित्र छिरेको अस्पतालका कर्मचारीले बताए । भालु छिरेको देख्नेबित्तिक्कै कर्मचारी र सुरक्षाकर्मीले भवनको कोठाको ढोका लगाइदिएपछि भालु भित्र थुनिएको हो ।
प्रसूतिगृहमा कुनै पनि बिरामी नभएकाले भालुलाई कोठाभित्र थुन्न सजिलो भएको बताइन्छ । अस्पतालमा पसेको भालुको व्यवस्थापनको निम्ति आवश्यक तयारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलका अनुसार वन्यजन्तु विज्ञको सल्लाहबमोजिम भालुको व्यवस्थापन गरिने छ ।
जिल्ला प्रहरी कार्यालय स्रोतका अनुसार भालुलाई बेहोस बनाउनुपर्ने भएकाले राजधानी वा चितवन राष्ट्रिय निकुञ्जबाटै विशेषज्ञको टोली झिकाउनुपर्ने अवस्था देखिएको छ । स्थानीयले भने भालुलाई त्यत्तिकै छाडेमा सर्वसाधारणमाथि आक्रमण हुने बताएका छन् । उनीहरुले चिडियाखाना वा टाढाको संरक्षण क्षेत्रमा लगेर छाड्नुपर्ने सुझाव दिएका छन् ।
टिप्पणीहरू