न्यायिक प्रक्रियामा हुलहुज्जत नगर्न महिला आयोगको आग्रह

न्यायिक प्रक्रियामा हुलहुज्जत नगर्न महिला आयोगको आग्रह

नाबालिका किशोरीमाथि बलात्कारको आरोप लागेका कलाकार पल शाहको बचाउमा भइरहेका बहस र प्रदर्शनलाई लिएर राष्ट्रिय महिला आयोगले आपत्ति जनाएको छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको अवस्थामा त्यसलाई प्रभावित बनाउने गरि पक्ष र विपक्षमा प्रचारबाजी गरिएको भन्दै आयोगले आपत्ति प्रकट गरेको हो ।

आयोगले विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालहरूमा भइरहेका प्रचारबाजी, प्रदर्शन तथा सार्वजनिक अभिव्यक्तिप्रति सरोकारवालाहरुको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आयोगले आज विज्ञप्ति जारी गर्दै अभिनेता शाहमाथि लागेको आरोपबारे संयमित भएर अनुसन्धान प्रक्रियामा सहयोग गर्न सबै पक्षलाई आग्रहसमेत गरेको छ ।‘पल शाह भन्ने पूर्ण विक्रम शाहविरुद्ध एक नाबालिकाले जबरजस्ती करणी विषयक जाहेरी दरखास्त दिएको र सो सम्बन्धमा विभिन्न पत्र–पत्रिका तथा सामाजिक सञ्जालमा नाबालिकामाथि लाञ्छना लगाउने गरी विभिन्न प्रकारका समाचार प्रकाशन तथा टिका टिप्पणी भएकोप्रति राष्ट्रिय महिला आयोगको गम्भीर ध्यानाकर्षण भएको छ’, आयोगकी प्रवक्ता चमिला भट्टराईद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

न्यायिक प्रक्रियालाई प्रभावित पार्नेगरी आरोपितका पक्षमा हुलहुज्जत गर्नु कानुनविपरित हुने भन्दै विज्ञप्तिमा घटनाको सत्यतथ्य छानबिन गरि पीडितलाई न्याय दिलाउन माग गरिएको छ । आयोगले नबालिकाको परिचय नै खुल्ने गरी सञ्चारमाध्यमहरुले कपोलकल्पित र भ्रामक समाचार प्रकाशन गरेको भन्दै चर्को असन्तुष्टि जनाएको छ ।

‘…..उक्त कार्यहरु सम्मानित सर्वोच्च अदालतबाट भएको “बलात्कार, गर्भपतन, यौन दुर्व्यवहार, मानव बेचबिखन, जीउ मास्ने बेच्ने, हाडनाता करणी एवं महिलाविरुद्धको हिंसालगायतका मुद्दामा पीडितको व्यक्तिगत परिचयात्मक विवरण गोप्य राख्नु’’ भन्ने आदेश विपरीत रहेकाले यस घटनाप्रति राष्ट्रिय महिला आयोगको गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा उल्लेख छ ।

टिप्पणीहरू