‘अब लामखुट्टेको टोकाइबाट बच्नुहोस्’
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लामखुट्टेको टोकाइबाट बच्न सबैमा आग्रह गरेको छ । गर्मीयाम सुरु भएसँगै लामखुट्टेबाट रोग लाग्न सक्ने बताउँदै मन्त्रालयले सुरक्षित रहन आग्रह गरेको हो । लामखुट्टेको टोकाइबाट बच्न मन्त्रालयले विभिन्न उपायबारे जानकारी गराएको छ ।
यसको संक्रमणबाट बच्न घर वरिपरि पानी जम्मा हुन नदिने, पानी भर्ने भाँडो छोपेर राख्ने, गमलाको प्लेट र फूलदानीको पानी प्रत्येक हप्ता फेर्न मन्त्रालयले आग्रह गरेको छ । त्यसैगरी, अकस्मात ज्वरो आउने, थकान महशुस हुने, हातखुट्टाको जोर्नी अत्यधिक दुख्ने, टाउको र मांशपेशी दुख्ने, वाकवाकी लाग्नेजस्ता लक्षण डेंगुको हुन सक्नेतर्फ सतर्क रहन भनिएको छ ।
जिका, चिकनगुनिया र डेंगु संक्रमणका लक्षण उस्तै देखिनेबारे पनि मन्त्रालयले जानकारी दिएको छ । यस्ता लक्षण देखिएमा कोभिड–१९ जस्तै पोलिमरेज चेन रियाक्सन (पीसीआर) परीक्षण गर्नुपर्ने हुन्छ । सरकारले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा यी रोगको निःशुल्क पीसीआर परीक्षण गर्ने व्यवस्था समेत गरेको छ ।
टिप्पणीहरू