श्रीमानहरुको सरुवा,बढुवा र काजफिर्ता शुरु
सर्वोच्च अदालतमा रिक्त एक न्यायाधीशमा विराटनगर उच्च अदालतका मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठलाई नियुक्त गरिएको छ । आज बसेको न्यायपरिषद बैठकले श्रेष्ठलाई सर्वोच्चमा ल्याउने निर्णय गरेको हो ।
सर्वोच्चमा उनको नियुक्तिसँगै अब सर्वोच्च जाने लाइनमा पाटन उच्च अदालतबाट आज दिपायल काज फिर्ता गरिएका नृपध्वज निरौला रोलक्रममा चढेका छन् । वैशाखमा केही न्यायाधीश खाली हुनेबित्तिक्कै न्यायाधीश नीता गौतम दीक्षितको समेत सर्वोच्च जान बाटो खुल्नेछ ।
श्रेष्ठलाई सर्वोच्चमा लगिएपछि आजदेखि उच्च अदालतहरुमा पाँच जना मुख्य न्यायाधीश रिक्त भएका छन् । न्यायाधीश निरौलालाई दिपायल फिर्ता पठाएपछि पाटन उच्च अदालतमा माधव पोखरेललाई कायम मुकायम मुख्य न्यायाधीशको जिम्मा दिइएको छ । उच्चतर्फ काजमा गएकाहरुको अबको बैठकबाट काज फिर्ता हुने अड्कल पनि लगाइएको छ ।
आजको बैठकले सर्वोच्चका मुख्य रजिष्ट्रार लालबहादुर कुँवरलाई उच्च अदालत पाटनमा न्यायाधीश नियुक्त गर्ने निर्णय पनि गरेको छ । योसंगै सर्वोच्चको कर्मचारी प्रशासनमा मुख्य जिम्मेवारीमा रहेका न्यायाधीश तथा मुख्य न्यायाधीश बन्नेहरुको संख्या थपिएको छ । यसअघि लोहितचन्द्र शाह,नहकुल सुवेदी र नृपध्वज निरौला सर्वोच्च प्रशासनबाट न्यायाधीश र मुख्य न्यायाधीश बनेका थिए ।
टिप्पणीहरू