चिनियाँ पाहुना आउने पक्का,होटल छान्दै अधिकारीहरु

चिनियाँ पाहुना आउने पक्का,होटल छान्दै अधिकारीहरु

चीनका विदेशमन्त्री वाङ यी नेपालको दुई दिने भ्रमणको लागि काठमाडौं आउने पक्का भएको छ । कूटनीतिक स्रोतका अनुसार उहाँ आगामी चैत १२ गते काठमाडौं आउने र भोलिपल्ट फर्कने कार्यक्रम मोटामोटी तय भएको हो ।

विदेशमन्त्री वाङसँगै उच्चस्तरीय भ्रमण टोलीमा चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभाग प्रमुख सोङ ताओ पनि रहने जनाइएको छ ।

चिनियाँ टोली चैत १३ गते यतैबाट बंगलादेशको राजधानी ढाका जाने सम्भावना रहेको बताइन्छ । काठमाडौंमा रहँदा उहाँहरु बत्तिसपुतलीस्थित होटल द्वारिकाज वा दुई वर्षअघि चिनियाँ राष्ट्रपति सी जिन पिङ बसेको होटल सोल्टीमध्ये एकमा बसाइ हुनेगरी तयारी गरिएको छ ।

भ्रमणको क्रममा प्रतिनिधिमण्डलले राष्ट्रपति विद्यादेवी भण्डारी,प्रधानमन्त्री शेरबहादुर देउवा र सबै प्रमुख दलका शीर्ष नेतासँग भेटवार्ता गर्ने कार्यक्रम बनाइएको छ । सो क्रममा दुई देशबीच कायम रहेको सरकारी तथा राजनीतिक दलहरुबीचको सम्बन्ध र द्विपक्षीय हितमा वार्ता केन्द्रित हुने छ ।

टिप्पणीहरू