विदेशबाट समेत आएका किरातीहरुलाई नेता छान्न भ्याइनभ्याई

विदेशबाट समेत आएका किरातीहरुलाई नेता छान्न भ्याइनभ्याई

किरात याक्थुङ चुम्लुङको ११ औँ राष्ट्रिय महाधिवेशन पाँचथरको सदरमुकाम फिदिममा शुरु भएको छ । तीन दिनसम्म चल्ने महाधिवेशनको १ नम्बर प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले हिजो उद्घाटन गर्नुभएको छ । उद्घाटन समारोहमा बोल्दै आङ्बोले जारी हिँउदे अधिवेशनबाट १ नम्बर प्रदेशलाई पहिचानमा आधारित नामाकरण गर्ने प्रतिवद्वता जनाउनुभएको छ । प्रदेश सरकारले नामाकरणका लागि पहल थालेको बताउँदै उहाँले विभिन्न भाषा,सँस्कृतिको प्रवर्धनमा प्रदेश सरकारले काम गरिरहेको दाबी गर्नुभएको छ ।

सामाजिक संस्थाका रुपमा स्थापित कियाचुले १ नम्बर प्रदेशलाई ऐतिहासिक पृष्ठभूमिका आधारमा ‘लिम्बुवान’ नामाकरण गर्न माग गर्दै आएको छ ।

लिम्बुहरुको साझा संस्था चुम्लुङको अधिवेशनमा नीति,कार्यक्रम तथा आगामी योजनाबारे छलफल हुने बताइएको छ । महाधिवेशनमा १ नम्बर प्रदेशका पाँचथर, ताप्लेजुङ,धनकुटा, तेह्रथुम,संखुवसभा, सुनसरी,मोरङ,झापा, इलामसहित काठमाण्डौ, ललितपुर र भक्तपुरसहित वैदेशिक प्रतिष्ठानबाट चार सय प्रतिनिधिले नेतृत्व चयन प्रक्रियामा भाग लिइरहेको महासचिव निरन्ती तुम्बापोले जानकारी दिए ।

समारोहमा लिम्बु संस्कृतिमा आधारित भेषभुषामा सजिएका किरात लिम्बुहरुको बाक्लो उपस्थिति थियो । सो अवसरमा कियाचु युवराज पत्रकारिता पुरस्कार २०७८ द्वारा २०५६ सालदेखि निरन्तर रुपमा लुङ्गा पत्रिकामार्फत् लिम्बु भाषा र साहित्य खोजमुुलक लेख रचना, समाचार प्रकाशनका साथै लिपी विकासको लागि अहम् भूमिका निर्वाह गरेको भन्दै सञ्चारकर्मी सेसेमी से–नाल्बोलाई नगद १० हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरिएको छ ।

कार्यक्रममा लिम्बु भाषाको कक्षा ६ देखि ८ को पाठ्यपुस्तक,कियाचु गतिविधि २०७४–२०७८ स्मारिका,दोस्रो राष्ट्रिय याक्थुङ मुन्धुम गोष्ठी २०७८ को अनुभव संगालो ताक्लुङमा मुन्धुम,दोस्रो राष्ट्रिय याक्थुङ मुन्धुम गोष्ठी २०७८ को ताक्लुङमा मुन्धुम भिडियो,मधुराज केरुङको लिम्बु कविता संग्रह तुम्दुङसेरी र याक्थुङ मुन्धुम युनेस्कोमा दर्ताको निम्ति तङ्सिङ याक्थुङ मुन्धुम भिडियो छ वटा पुस्तक तथा भिडियो विमोचन गरिएको थियो ।

कार्यक्रममा केन्द्रीय अध्यक्ष योगगराज वनेम लिम्बुको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ केन्द्रीय उपाध्यक्ष गोविन्द छन्त्याल, जसपा नेपाल लिम्बुवान राष्ट्रिय समिति सचिव शर्मिला आङ्देम्बे, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, प्रान्तीय लिम्बुवान मञ्चका महासचिव अशोक चेम्जोङ, नेपाली काँग्रेसका सभापति रुपनारायण जवेगु, नेकपा माओवादी केन्द्रका पाँचथर संयोजक होमबहादुर जवेगु, नेकपा एकीकृत समाजवादीका अध्यक्ष कमलजवेगु, जसपा नेपाल पाँचथर अध्यक्ष लक्ष्मण लावती, कियाचुका पूर्व केन्द्रीय सचिव नरेन्द्रकुमार केरुङ, कियाचु लिम्बुवान प्रदेश समिति अध्यक्ष मधुराज केरुङ, नेवाल्याण्ड प्रदेश अध्यक्ष भीम नेम्बाङ, नेपाल पत्रकार महासंघ पाँचथरका अध्यक्ष गिरिराज बाँस्कोटा र सम्मानित सेसेमी सेनाल्बोलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

टिप्पणीहरू