महावीर पुन सिंहदरबार नछिर्नुको कारण के ?

महावीर पुन सिंहदरबार नछिर्नुको कारण के ?

राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुनले आफूले सिंहदरबार नछिर्नुको कारण र गृहमन्त्रीले सबै नेपालीले सजिलैसँग सिंहदरबार छिर्न पाउनुपर्ने माग एकैचोटी सार्वजनिक भएको छ । पुनले असहज प्रक्रियाका कारण सामाजिक सञ्जालमा अत्यावश्यक कामबाहेक सिंहदरबार नछिर्ने घोषणा गरेका छन् । 

आजै बिहान गृहमन्त्री रवि लामिछानेले सिंहदरबारमा सबै नेपालीले सजिलै छिर्न पाउनुपर्ने माग प्रधानमन्त्रीसँग राखेको सामाजिक सञ्जालबाट जानकारी दिइएको छ । पुनले आफू सिंहदरबार नजानुको एउटै कारणको रुपमा गेट पासको लम्बेतान प्रक्रियालाई लिएका छन् ।

सिंहदरबार भित्रका कुनै पनि कर्मचारीले आगन्तुकको नाममा स्वीकृति नजनाएसम्म कोही पनि सिंहदरबार छिर्न पाउँदैनन् । सोही सन्दर्भमा उनले लेखेका छन्, ‘म सिंहदरबार नजानुको एउटा कारण के हो भने त्यहाँ जानको लागि भित्रबाट कसैले गेटपास मेरो नाममा पठाई दिनुपर्छ । त्यसको लागि कसैको फोन खोजेर भन्नुपर्ने हुन्छ । म जस्तो धेरैले चिन्ने मान्छेलाई त गेट पास बनाउन झन्झटिलो छ भने अरुको हालत के होला ? अनुमान गर्नुहोस् ।’

उनले उक्त चलनबाट मुक्ति पाउन धेरै पटक तत्कालीन मुख्यसचिव लीलामणि पौडेल र गृहसचिव प्रेम राईलाई गुहारे पनि काम नबनेको भन्दै दुःखेसो पोखेका छन् । उनीहरुलाई नै भेटेर एउटा गेट पास बनाइदिन अनुरोध गर्दा पनि नमिल्ने जवाफ पाएपछि आफू अत्यन्त जरुरी काम नपरेसम्म सिंहदरबार नजाने अठोट लिएको उल्लेख गरेका हुन् । 

‘मैले पासको निम्ति अनुरोध गरेको थिएँ,तर मिल्दैन भनेपछि अत्यन्त जरुरी काम नपरेसम्म म सिंहदरबार जान्न । त्यसैले सिंहदरबारलाई नमस्कार,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

यता गृहमन्त्री रवि लामिछानेले आफूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर सर्वसाधारणलाई सिंहदरबारसम्मको पहुँच दिनुपर्ने विषयमा कुरो उठाएको बताइएको छ । आज बिहान बालुवाटारमा भएको भेटमा आमनागरिकलाई पनि सिंहदरबारसम्म प्रवेश गर्नसक्ने वातावरण बनाउन आग्रह गरेको सामाजिक सञ्जालमा लेखिएको छ । पुनले गृहमन्त्रीको उक्त भनाइमा जवाफ दिँदै लेखेका हुन् ।

महावीर पुनः एक नेपाली वैज्ञानिक, शिक्षक,सामाजिक उद्यमी तथा दुर्गम हिमाली क्षेत्रमा ताररहित सञ्चार माध्यमको प्रयोगमा लागिपर्दै आएका छन् । उक्त कार्यलाई नेपाल वायरलेस नेटवर्किङ परियोजना भनिन्छ । उनी पछिल्लो समय स्वदेश र विदेशमा समेत चर्चित छन् । पुनले रामोन म्यागेसेसे पुरस्कार समेत पाइसकेका छन् ।

टिप्पणीहरू