रविको नागरिकतावारे पर्सि दूधको दूध,पानीको पानी

रविको नागरिकतावारे पर्सि दूधको दूध,पानीको पानी

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादसम्बन्धी मुद्धा हेर्दाहेर्दैमा परेको छ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको पाँच सदस्यीय संवैधानिक इजलासमा आज सुनुवाई नसकिएपछि मुद्धा हेर्दाहेर्दैमा बसेको हो । 

आज रिट निवेदकका तर्फबाट बहस सकिएको छ । अधिवक्ता रविराज बसौला,रमण कर्ण, डा.सुरेन्द्र भण्डारी,अमृत खरेललगायतले बहस गरेका थिए । बहसका क्रममा उनीहरुले विदेशी नागरिकता लिएसँगै कानुनतः रद्ध भइसकेको नेपाली नागरिकता प्रयोग गरेर लामिछानेले चुनावमा उम्मेदवारी मनोनयन गरेकाले उनको सांसद पद खारेज हुनुपर्ने जिकिर गरेका थिए । 

त्यसपछि रविका कानुन व्यवसायीहरुले प्रतिरक्षा बहस गरेपनि सकिएन । सहन्यायाधिवक्ता सन्जिवराज रेग्मी, अधिवक्ता सुनिल पोख्रेल,सुशील पन्तलगायतले रविको पक्षमा बहस गरे । 

अब अर्को पेशी शुक्रबारका लागि तोकिएको छ । पुस २२ गते नै सर्वोच्चले अग्राधिकार दिएकाले सम्भवत: यो मुद्धा किनारा लाग्नेछ ।  

रमाइलो कुरा चैं, निवेदकको पक्षमा बहस गर्नुपर्ने सरकारी वकिलहरू रविको प्रतिरक्षामा उत्रिन बाध्य भएका छन् । रविको नागरिकता गम्भीरतापूर्वक छानविन गर्नुपर्ने लिखित जवाफ पेश गरेका काठमाडौँका सिडिओले पछि कुरा फेरेजस्तै रवि गृहमन्त्री भएकैले सरकारी वकिलहरू पक्षमा बहस गर्न बाध्य भएका हुन् । 

अमेरिकाको नागरिकता त्यागेर पुनः नेपाली नागरिकता नलिई खारेज भएकै नागरिकताबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेकाले उनको सांसद पद खारेजीको माग गर्दै गत २८ मंसिरमा लामिछानेविरुद्ध सर्वोच्चमा रिट दर्ता भएको थियो । अधिवक्ता रविराज बसौला र युवराज पौडेलसमेतले दायर गरेको दुईवटा छुट्टाछुट्टै रिटमाथि एकमुष्ट सुनुवाई भएको हो ।

टिप्पणीहरू