सबै श्रेणीहरू

सहकारीहरुमाथि अनेक आरोप, सबैलाई एउटै डालोमा हाल्न नहुने केहीको भनाइ

सहकारीहरुमाथि अनेक आरोप, सबैलाई एउटै डालोमा हाल्न नहुने केहीको भनाइ

पछिल्लो समय धेरै वटा सहकारीबारे अनेक प्रश्न उठेका छन् । केहीले बचतकर्ताको रकममाथि खेलबाड गरेका छन् । सोही क्रममा पुतलीसडकस्थित सिन्सियर सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडबारे केहीले अनौठो जिज्ञासा राखेका छन् । 

दुई हजार जना बचतकर्ताको रकम लगानी गरिएको यस संस्थाले आफ्ना सेयर सदस्यलाई गुणतस्तरीय सेवा प्रदान गर्दै आएको बताइन्छ । न्युरोड, असन, भोटाहिटी, इन्द्रचोक, ढल्कु, नरदेवी, पुतलीसडक, मैतीदेवी, क्षेत्रपाटी, डिल्लीबजारलगायत क्षेत्रका धेरै बासिन्दा र व्यापारीले सिन्सियरमा बचत गरेका हुन् ।

काठमाडौं र ललितपुर कार्य क्षेत्र रहेको सिन्सियर सहकारीका सञ्चालक र प्रायः जसो कर्मचारी काठमाडौंका रैथाने बासिन्दा हुन् । सहकारी ऐनबमोजिम १६ प्रतिशतभन्दा बढी ब्याजदरमा कर्जा लगानी गर्न पाईंदैन । 

तर, सिन्सियरले बढी ब्याजदरमा कर्जा लगानी गरेको केही ऋणीहरुको भनाइ छ । यसबारे सहकारी कर्जा उपसमितिका सदस्य रुद्र खड्काले उक्त आरोपलाई गलत भनेका छन् । जनआस्थासँगको कुराकानीमा खड्काले ‘सहकारीलाई प्राप्त निर्देशन सबै पालना गरिएको छ,’ बताए । उनका अनुसार हालसम्म खराब कर्जा एक प्रतिशतभन्दा कम रहेको छ ।

सहकारी संस्थाले कर्जा प्रदान गर्ने बेलामा मात्रै सेवाशुल्क लिन पाउने प्रावधान एकातिर छ । त्यो पनि सरकारले तोकेबमोजिमको प्रतिशतमा लिन पाइन्छ । केही सहकारीले भने कर्जा दिँदा र कर्जा चुक्ता हुने समयमा पनि ऋणीसँग मनलाग्दो प्रतिशत तोकेर सेवाशुल्क लिने गरेको पाइएको छ । कतिपयले वर्षैपिच्छे कर्जा नवीकरण गर्न लगाउने गरिएको अन्य संस्थाका ऋणीहरुको दुःखेसो छ । 

सिन्सियर सहकारीका कार्यकारी सञ्चालक राजेश खड्काले आफ्नो सहकारीबारे उठाइएको प्रश्नमा कुनै दम नभएको जानकारी दिए । उनले भने, ‘इमान्दार र बदमासलाई एउटै डालोमा हालेर हेर्न भएन । सिन्सियरमाथि अहिलेसम्म कुनै दाग लागेको छैन । यो सबै अफवाह हो ।’