प्रहरीमा कत्लेआम, संभाव्यमा क–कसको नाम

प्रहरीमा कत्लेआम, संभाव्यमा क–कसको नाम

कोही प्रहरी कत्लेआममा परे, कोही सर्लक्कै उक्ल्याइए । विद्यमान प्रहरी ऐनकै आधारमा चल्ने हो भने आजको ठीक १० दिनपछि नयाँ आइजिपी हुनुपर्ने नेपाल प्रहरीमा यतिबेला डिआइजी दर्जाको निम्ति रुवाबासी शुरु भएको छ ।

सरकारले बसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई बढुवाका लागि सिफारिस गरेपछि अघिल्लो बढुवाको वरियताअनुसार तल परेका थुप्रै डिआइजी निराश छन् । एसएसपी बढुवाको वरियतालाई डिआइजी बढुवाले विस्थापित ग¥यो, तर एआइजी बढुवामा डिआइजी बढुवाको मान्यतालाई समेत लत्याइएको गुनासो प्रहरी हेडक्वार्टरमा व्यापक छ । यही व्याच एसपीबाट एसएसपीमा बढुवा हुँदाको वरियतालाई मिचिँदा केही व्यक्ति कत्लेआम भएका छन् । ०७५ फागुन ७ गतेको एसएसपी बढुवाको पहिलो नम्बरमा रहेका सन्दिप भण्डारी, तेस्रो नम्बरका उमेशराज जोशी, छैठौँका रामदत्त जोशीहरु कत्लेआम हुनेमा परेका हुन् ।

डिआइजी बढुवाका क्रममा एसएसपी हुँदा दोस्रो लटमा उक्लिएका अशोक सिंह तेस्रो नम्बरमा बढुवा भएका थिए । एसएसपी बढुवामा १३ नम्बरका बसन्तबहादुर कुँवर डिआइजी हुँदा सबैलाई उछिनेर पहिलो नम्बरमा परे, त्यही वरियता एआइजी सिफारिससम्म कायम छ । अशोकले राजीनामा दिएपछि चौथो नम्बरबाट डिआइजी बढुवामा परेका दीपक थापा एआइजीमा तेस्रो भएका छन् । अब सरकारले अहिलेका आइजी धीरजप्रताप सिंहको म्याद थपेन भने यिनै पाँच एआइजीभित्रबाट चैत ११ गते आइजी हुने भएका छन् । एआइजी सिफारिस भएकामध्ये दीपक थापाबाहेक सबैको प्रहरीमा सेवा प्रवेश मिति २०५१/१२/०५ हो । थापा भने सोही व्याचको वैकल्पिकमा हुँदा उनले २०५२/०५/१९ मा नियुक्तिपत्र बुझेका थिए । 

बढुवाको यो अभ्यासअनुसार अब डिआइजी बढुवा पनि तलमाथि हुने त्रास प्रहरीभित्र छाएको छ । अहिले एआइजी बढुवाकै व्याचका केही एसएसपी डिआइजीका दावेदार छन् । उक्त व्याचभन्दा पछिका एसएसपीमध्ये थुप्रै छुट्ने खतरा बढेको छ । अब सिद्धिविक्रम शाह, सुशीलसिंह राठौर, माधवप्रसाद श्रेष्ठ, डम्बरबहादुर बिक, गणेश चन्द, उमाप्रसाद चर्तुवेदीहरुको व्याच डिआइजीको प्रत्यासी हो । त्योभन्दा मुनिका मनोज केसी, दानबहादुर कार्की, दिनेशकुमार आचार्यहरुको ब्याच पनि समेटिनुपर्ने हो । तर, पुरानाले नै ठाउँ ओगट्दा जुनियर व्याच हतोत्साहित हुने स्थिति बनिरहेको छ । जसरी अहिलेका आइजीकै व्याचका नलप्रसाद उपाध्याय, मसाउद आलम खाँहरुलाई पन्छाएर विगतमा बढुवा हुँदा अन्याय भयो, त्यो खतरा अहिले बाक्लिने सम्भावना छ ।

अब ४–५ गते हुने डिआइजीको बढुवा सिफारिसमा अवकास हुने भनिएकालाई पनि सिफारिस गर्ने कि नगर्ने भन्ने कुराले प्रहरीमा ३० वर्षे रहने कि हट्ने भन्ने कुरा थाहा हुने भयो । कि, तीनवटा दरबन्दी खालि राखेर बढुवा हुन्छ, कि त अवकासमा जानेहरु पनि समेटिने चर्चा हेडक्वार्टरमा छ । अर्कातिर, आइजीको हकमा मात्रै एक वर्ष थप्ने र अरुलाई अवकास दिने हल्ला पनि छ । तयार भएको संशोधित प्रहरी नियमावली लागु गर्ने समयसीमाबारेका विवाद यथावत रहँदैमा त्यसले गरेको व्यवस्थाअनुसार आइजी राख्ने, अरुलाई बिदा गर्ने सुरसारबारे चर्चा भएको हो । नियमावलीमा भनिएको छ, ‘...महानिरीक्षकको उमेर हद ५८ वर्ष ननाघ्ने गरी नियुक्त भएको मितिले ३ वर्षसम्म बहाल रहन सक्नेछन् ।’ यसमै टेकेर उनको कार्यकाल बढाउने तयारी समेत बुझिन्छ । 

जसरी बढुवाको मुखमा केही डिआइजीलाई काम हेरेर बढुवा दिने भनी प्रदेश–प्रदेश पठाइयो, एआइजीको बढुवा सूची प्रकाशित गर्दा भने प्रदेशमा गरिएको कामको कार्यसम्पादन मूल्यांकनको अंक आएन । पुरानै वरियताका आधारमा सिफारिश गरिएको छ । उता, योगगुरु रामदेवका नेपाली एजेण्ट तथा व्यापारी शालिग्राम सिंहले आफूमाथि खतरा भयो भन्दै प्रहरीको सुरक्षा माग गरेका छन् । 

 

टिप्पणीहरू