सबै श्रेणीहरू

मुख्यमन्त्री कार्यालय अघिल्तिर आगो दन्दनी, हतियार उठाउने परिस्थिति बन्दै गएको कोशी प्रदेश विरोधीहरुको उद्घोष

मुख्यमन्त्री कार्यालय अघिल्तिर आगो दन्दनी, हतियार उठाउने परिस्थिति बन्दै गएको कोशी प्रदेश विरोधीहरुको उद्घोष

प्रदेश १ सभाले गत फागनु १७ गते दुई तिहाईभन्दा बढी मतले कोशी प्रदेश नामाकरण टुंगो लगायो । प्रदेश सभामा निर्वाचित ९३ मध्ये ८२ जना सांसदले कोशी प्रदेशको पक्षमा मतदान गरेका थिए । चार जना सांसदले मात्र विपक्षमा मतदान गरेका थिए । छ जना सांसद मतदानमा अनुपस्थित भएका हुन् । 

सत्ताधारी दल एमालेले सांसद रामराना मगरलाई प्रस्तावक र दुई जना जनजाति सांसदलाई समर्थक राखेर कोशी प्रदेशको नाम सम्बन्धी प्रस्ताव दर्ता गराएको थियो । विपक्षी दल नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी नेपालले किराँत लिम्बुवान सगरमाथा नाम प्रस्ताव दर्ता गराएको थियो । तर उक्त प्रस्ताव सैद्धान्तिक छलफलमा बहुमतले अस्वीकृत भयो । 

संविधानअनुसार दुई तिहाईभन्दा बढी मतले कोशी प्रदेश नामाकरण भएपछि पहिचान पक्षधर दल र जातीय साँस्कृतिक संगठनहरुले विरोध गर्दे संघर्षका कार्यक्रम घोषणा गरे । उनीहरुले आफ्नो प्रभाव रहेका क्षेत्रका पालिकाहरुको वडा कार्यालयमा तालाबन्दी गर्ने, विपक्षमा मतदान गर्ने सांसदहरुलाई वंशबाट बहिष्कार गर्नेदेखि मसाल जुलुस निकाल्ने र प्रदेशमा आम हड्ताल गर्ने कार्यक्रम सम्पन्न गरिसकेका छन् । 

पहिचान पक्षधरहरुले कोशी प्रदेश खारेजीका लागि संयुक्त संघर्ष समिति निर्माण गरेर हिजो विराटनगरमा शान्तिपूर्ण बृहत प्रदर्शनको घोषणा गरेका थिए । सोही घोषणा अनुसार झापा, मोरङ, सुनसरी, धनकुटा, इलाम, पाँचथरलगायत जिल्लाबाट हजारौंको संख्यामा प्रर्दशनकारीहरु विराटनगर केन्द्रित भएका थिए । यता पहिचानवादीहरुको प्रदर्शन हिंस्रक हुन नदिन मोरङ प्रशासनले हिजो बिहानैदेखि प्रादेशिक राजधानी विराटनगरको मुख्य स्थानमा निषेधाज्ञा जारी गरिदियो । सोही कारण प्रदर्शनकारीहरु विराटनगरको जनआन्दोलन चोकमा केन्द्रित भएका हुन् । 

पहिचान पक्षधर नेताहरुले सम्बोधन गर्ने कार्यक्रम पनि तय गरियो । प्रशासनले पनि प्रदर्शन शान्तिपूर्ण हुने तर आन्दोलनकारीहरु उत्तेजित भएको अवस्थामा देवकोटा चोकमा रहेको प्रदेश सभातर्फ जानसक्ने आकलन गर्दै धेरै सुरक्षाकर्मीलाई त्यहाँ परिचालन गरेको पनि देखिया् । जनआन्दोलन चोकमा केन्द्रित प्रदर्शनकारीहरु एकाएक उत्तेजित बने । आन्दोलन कमाण्डमा नहुँदा उनीहरु नाराबाजी गर्दै एक किलोमिटर दक्षिणको रोडशेष चोकमा रहेको मुख्यमन्त्री कार्यालय घेराउ गर्न पुगे । 

उक्त चोकमा प्रहरीले कडा सुरक्षा व्यवस्थापन गरेको देखिन्थ्यो । उत्तेजित आन्दोलनकारीहरुले प्रहरीको अवरोध भत्काउँदै र निषेधाज्ञा तोड्दै मुख्यमन्त्री कार्यालय अगाडी पुगेर दिनभर नाराबाजी र प्रदर्शन गरे । निषेधाज्ञा तोडेको भन्दै प्रहरीले लाठी चार्जसँगै हवाई फायर गर्यो भने एक दर्जन बढी अश्रु ग्यास प्रहार गरेको थियो । प्रदर्शनकारीहरु झन् उत्तेजित भएको देखिन्थ्यो । 

उनीहरुले प्रहरीमाथि ईंटा र ढुंङ्गा प्रहार गरेका थिए । सोही क्रममा प्रदर्शनकारीहरुले मुख्यमन्त्री कार्यालय अघिल्तिर मुख्यमन्त्री हिक्मत कार्कीको पुत्ला भन्दै टायर बालेर नाराबाजी गरिरहे । उनीहरु मुख्यमन्त्री कार्यालयभित्रै पसेर प्रर्दशन गर्नै मुडमा देखिन्थे । आयोजकहरुले पटक पटक शान्तिपूर्ण प्रदर्शनमा सहभागी हुन कार्यकर्ताहरुलाई आग्रह गरेपनि उत्तेजित युवाहरुले आयोजकको अनुरोधलाई बेवास्ता गरेका हुन् । 

प्रदर्शनकारीहरी केही शान्त बनेपछि पहिचान पक्षधर नेताहरुले कोणसभालाई सम्बोधन गरेका थिए । कोणसभामा गोपाल किराँती, सन्जुहाङ पालुङवा, आङकाजी शेर्पालगायतले कोशी प्रदेश खारेज नभएसम्म संघर्षलाई निरन्तर शसक्त बनाउने उद्घोष गरे । उनीहरुले विगतमा श्री ५ को सरकारको बोर्ड फ्याँकेझैँ कोशी प्रदेशको बोर्ड पनि गाउँगाउँबाट फाल्ने, आवश्यकताअनुसार खुकुरी र बन्दुक उठाउन पछि नपर्ने चेतावनी दिएका थिए ।