बुद्धको जप्ने ठाउँमै अशुद्ध

बुद्धको जप्ने ठाउँमै अशुद्ध

भगवान् बुद्धको ज्ञान प्रचार गरी मानव दुःख निवारण गर्ने उद्देश्यसहित स्थापित बिहारलाई सञ्चालकहरूले नै भ्रष्टाचार र दुराचारको थलो बनाएपछि संघाराम बिहारमा भाँडभैलो मच्चिएको छ ।

काठमाडौँँको ढल्कोस्थित संघाराम बिहार निर्माणका लागि शहरी विकास मन्त्रालयले दिएको ३० लाख, काठमाडौँ महानगरपालिकाले दिएको ३३ लाख लगायत रकम हिनामिना भएको पाइएको हो । बिहार सञ्चालक समितिभित्रै अनियमितता र भ्रष्टाचारका विषय उठेपछि सञ्चालक सदस्य वीरेन्द्रराज शाक्यलाई सम्पूर्ण हिसाबकिताब र बिलभर्पाइ पेश गर्न पत्राचार गरिएको छ । १४ वर्षअघि बिहार भवन निर्माणको लागि शहरी विकास मन्त्रालयबाट प्राप्त रकममध्ये काम अपूरो छाडी अधिकांश रकम हिनामिना भएको पाइएको हो ।

२०६६ सालमै शहरी विकास विभागले संघाराम बिहारलाई कालोसूचीमा राखी बेरुजु फछ्र्यौट गर्न भनेको थियो । तर सो पत्रसमेत सोझा भिक्षुहरूलाई गुमराहमा राखी वीरेन्द्रहरूले गायब गरेको बताइएको छ । यसैगरी, चैत्य निर्माणका लागि काठमाडौँ महानगरपालिकाले पहिलो किस्तामा दिएको साढे २४ लाख रूपैयाँ पनि अनियमित रूपले खर्च गरिएको भनी उजुरी परेको छ । दिने भनी सम्झौता भएको ७४ लाखमध्ये पहिलो किस्ता साँढे २४ लाख नै अनियमित रूपले खर्च गरेको उजुरी परेपछि महानगरले अहिले बाँकी किस्ता पनि रोकेको छ । 

स्मरण रहोस्, सो संस्थामा दुई दशकभन्दा बढी समयदेखि एकैजना कोषाध्यक्ष छन् । भवन निर्माण खर्चको विवरण बुझाउन बिहारका तर्फबाट पदाधिकारीले वीरेन्द्रसँग भन्दा उनले आफूसँग कुनै हिसाबकिताब, बिलभर्पाइ नभएको र कोषाध्यक्ष भिक्षु सद्धातिस्ससँग भएको बताएका थिए । वीरेन्द्रले आफू साधारण सदस्य मात्र भएको र आयव्यय विवरण सबै कोषाध्यक्षसँग हुने बताएपछि धान खाने मुसो चोट पाउने भ्यागुतो भनेझैं भएको छ । जिम्मेवारीको दृष्टिबाट कोषाध्यक्षले नै सबै खर्चको विवरण पारदर्शी रूपले राख्नुपर्ने भएकाले पनि वीरेन्द्रलाई सजिलो भएको छ । यता कोषाध्यक्ष सद्धातिस्सले भने ध्यान गरेर बस्ने आफूहरू बाध्यताले मात्र कोषाध्यक्षका रूपमा रहेको र सबै सामान ल्याउने, रकम दिने र काम लगाउने वीरेन्द्रले नै गरेको बताउने गरेका छन् ।

बिहारजस्तो पवित्र संस्थाको सञ्चालक भएर पनि वीरेन्द्रले आर्थिक रूपमा मात्र नभई चारित्रिक रूपमा पनि आफूलाई सुधार्न नसकेको एक भिक्षु बताउँछन् । थुप्रै आर्थिक अनियमिततामा मुछिएका वीरेन्द्रले बिहारकै बाहिरी काममा सहयोग गर्ने तामाङ थरकी विवाहित महिलालाई कान्छी श्रीमतीका रूपमा राखी अर्को गलत कार्य गरेको पनि ती भिक्षुले बताए । जेठी श्रीमती हुँदाहुँदै वीरेन्द्रले तामाङ थरकी महिलाको पनि पति बनेर नागरिकता दिइसकेका छन् । 

– लाजले मुख छोप्न विवश भन्तेहरू

 

टिप्पणीहरू