एमालेमा फेरि बल्झियो अर्कै घाउ

एमालेमा फेरि बल्झियो अर्कै घाउ

‘दुर्गा प्रसाईंलाई बोकेर लखतरान भएको ‘बा’ को त्यही काँधमा अर्को भारी आइलाग्यो एकनाथ ढकाल ! एमालेका निम्ति यस्तो भाउँतो आइलाग्दा नरेश खरेलजस्ता झापा आन्दोलनका आदर्शहरू भने पार्टी छाडेर हिँड्न बाध्य छन् !’

‘जहाँ छोयो त्यहीँ भताभुंग’ भनेजस्तो तल्लो तहका कार्यकर्तामा पुग्न ‘मिशन ग्रास रुट’ चल्यो, त्यहीँ हालत कमजोर ! नरेश खरेलमात्रै हैन, लामो समयको पत्रकारिता जीवनबाट विश्राम लिई भक्तपुरका उपेन्द्र केसी ०७४ मा सूर्यविनायक नगरपालिकाको वडाध्यक्ष र नगर प्रवक्ता भए । ०७९ मा चुनाव हारे । अहिले ‘मिशन ग्रास रुट’ सकिनासाथ ‘रुट’ बदलेर रवि लामिछानेको ‘घण्टी’ तिर लागेका छन् । उनी भक्तपुरभरि ईश्वर पोखरेलका ‘खास’ भनी चिनिन्थे ।

पार्टी अध्यक्ष केपी ओलीको जत्तिकै राजनीतिक इतिहास र योगदान भएका नरेश खरेल, पवित्रा निरौलाहरूले किन एमाले छाडे भन्ने कुराको एउटा जवाफ सिंहदरबारतिर भेटिन्छ । अचेल कोरिया, फिलिपिन्स र मलेशिया हप्तैपिच्छे ओहोरदोहोर गरिरहने नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकाललाई एमालेको समानुपातिक सूचीबाट १ नम्बरमै सांसद बनाइयो । भीम रावल, घनश्याम भुसालसहित अनगिन्ती संगठक, विचारक र अभियन्ताहरूको वास्ता भएन । हुँदाहुँदा अब एकनाथलाई सिंहदरबारभित्र ‘एमाले सांसद हुँ’ भन्नै लाज लाग्न थाल्यो । अरुले यसो गरेको भए ओलीले तुरुन्तै एउटा चिठी लेखेर पद रिक्त गराउनुहुन्थ्यो । तर, एकनाथका हकमा भन्नुभएको छ, ‘उसो भए अलग्गै कार्यालय लिएर बस्नुस् न त !’ च्यासलस्थित पार्टी कार्यालयमा चलेको चर्चाअनुसार, एकनाथका निम्ति दलको हाताभित्र अलग्गै कार्यकक्ष तयार पार्न अध्यक्ष ओलीले सचेतक महेश बर्तौलालाई निर्देशन दिइसक्नुभएको छ । एकनाथको जिकिर छ, ‘म कहाँ एमाले हुँ त ? पहिला हृदयेश त्रिपाठीहरू जस्तै एमालेको चुनाव चिह्नमा सांसद भइदिएको मात्रै पो त !’ 

एकनाथलाई समानुपातिक उम्मेदवार बनाउँदा चुनावमा क्रिश्चियन समुदायको मत आउने विश्वास थियो । तर, ती मतहरू ‘घण्टी’ तिर गए । क्रिश्चियन समुदायले घण्टीलाई आफ्नो धर्मको प्रतीक मान्ने गर्दछ, त्यसमाथि अमेरिकाबाट फर्किएर रवि लामिछानेले बनाएको पार्टी पक्कै पनि क्रिश्चिायानिटीकै पक्षको हो भन्ने पर्न जाँदा उसले अथाह मत हासिल गरेको थियो । एमाले कार्यकर्ताहरू सिंहदरबारमा चर्चा गर्दै छन्, ‘पहिला दुर्गा प्रसाईंलाई बोक्दाबोक्दा थाकेको काँध अब एकनाथलाई बोकेर गल्ने भयो !’

उता, एमालेका काठमाडौं जिल्ला अध्यक्ष दीपक निरौला, उपाध्यक्ष नवराज पराजुलीहरू गुमनाम छन् । निरौला मंसिर ४ को प्रदेशसभा निर्वाचनमा काठमाडौंको क्षेत्र नं. ५ बाट उठेका थिए । ‘ईश्वर पोखरेलका लागि पैसा बाँडेको आरोपमा मौन अवधीमा प्रहरीद्वारा पक्राउ परे, चुनाव पनि हारे । त्यसपछि गुमनाम छन् । सचिव राजेश शाक्यले पनि प्रदेशको सांसद हारे । उनीहरूले त हारे हारे, त्यसअघिको स्थानीय तहमा पनि राम्रो परिणाम आएन । काठमाडौंभित्र त बूढानीलकण्ठबाहेक कुनै पनि नगरमा पार्टी बर्चस्व जोगिएन । महानगरमा लगभग साफ नै भयो । त्यसैले अहिले एमालेभित्र काठमाडौंको सेट नै बेपत्ता छ ।

ओली उवाच 

राष्ट्रपतिले नीति तथा कार्यक्रम बाचन गरेकै दिन ‘हाम्रा सांसद नून खाएका कुखुराजस्ता भए, सधैं झोक्राएर बस्ने †’ यसो भन्दै अध्यक्ष केपी ओली संसदीय दलको बैठकमा कड्किनुभयो । संसदका सम्पूर्ण प्रक्रियालाई अवरुद्ध पार्नुपर्ने र आफ्ना सांसदले अवरोध गरिरहनुपर्ने भन्ने उहाँको आशय थियो । तर, अहिलेका एमाले सांसदहरू हुबहु त्यसो गर्न तयार छैनन् । त्यसकारण उहाँ संसदीय दलको बैठकमा त्यसरी तात्तिनुभएको हो ।

उहाँलाई संसदभित्र सांसदभन्दा पनि गणपूरक संख्या चाहिएको थियो । आफ्नो ज्ञान, विवेक क्षमतासहित ‘म पनि पार्टीको मान्छे हुँ’ भन्न सक्नेलाई कत्लेआम पारियो र परिवार दलको अध्यक्ष एकनाथलाई सांसद बनाइयो । तर, उनी देश कमै बस्छन् । ओलीले उनलाई पनि सांसद बनाएको गणपूरक संख्याकै निम्ति हो । किनभने, संसदीय व्यवस्थाबाट प्रगति हासिल गर्ने अभ्यास एमालेमा भएन । उहाँले नै संविधानविपरित दुई–दुईचोटि संसद विघटन गर्नुभएकै हो । अहिले जुनियरहरुलाई प्रमुख सचेतक, सचेतक बनाएको पनि परिणामका लागि हैन, ‘जी–हजुरी’ गर्नेलाई भाग पु¥याउनका लागि भन्ने भएको एमाले नेताहरूको टिप्पणी छ । 

संसदीय दलको बैठकपछि सांसदहरूबीच चलेको चर्चाअनुसार उपमहासचिव विष्णु रिमालको फेसबुकमा ओलीको स्ट्याटसमाथि ५० हजार लाइक आयो भने पार्टीको बहुमत आयो’ भन्ने अभिव्यक्ति ओली रिझाउनका निम्ति थियो, जुन सुनेर उहाँ खुशीले गदगद हुनुभयो । बहुमतचाहिँ सपनामा मात्रै आयो ।
 

टिप्पणीहरू