अचम्म अचम्मका काण्ड पाक्छन् यहाँ

अचम्म अचम्मका काण्ड पाक्छन् यहाँ

प्रहरीबीचमै स्वार्थ बाझिँदा कस्तो–कस्तो रमिता देख्नुपर्छ भन्ने एउटा दृष्टान्त यहाँ छ । नक्कली भूटानी प्रकरणको अनुसन्धानका कारण प्रहरीको वाहवाही हुन थालेपछि आइजी बसन्त कुँवरले शुरु–शुरुमा उपत्यका प्रहरी प्रमुख एआइजी श्यामलाल ज्ञवालीलाई कहिले प्रचण्ड त कहिले ओलीसँग भेट्न लगे । तर, पछि एउटै ब्याचका यी दुबैको मन फाट्दै गयो । त्यसरी नै, जसरी यसअघिका आइजी धीरजप्रताप सिंहले शुरुमा अशोक सिंहलाई प्रोत्साहन दिए, पछि उनकै आदेशानुसार अशोकले डिआइजीमै राजीनामा दिएर घर जानुप¥यो । अहिले बसन्त–श्यामको हकमा चलेको यो मनमुटाव कहाँसम्म पुग्ला ? हेर्न बाँकी नै छ ।

शुरुमा वसन्त र श्याम बालकोटस्थित एमाले अध्यक्ष केपी ओलीको घरमा पुगे । र दुई घण्टा बिताए । प्रधानमन्त्री प्रचण्ड, गृहमन्त्री नारायणकाजी श्रेष्ठकहाँ पनि बारम्बार गए । पछि ती ठाउँमा एक्ला एक्लै जान थाले । श्याम गुल्मी र वसन्त छिमेकी जिल्ला अर्घाखाँचीका हुन् । श्यामप्रति पूर्वमुख्यसचिव लीलामणि पौडेल, माओवादी नेता वर्षमान पुन र कृष्णबहादुर महरा सहानुभूतिशील थिए । आईजीपी बनाउने बेलामा बुद्धि जिसी र प्रमपुत्रीबीच छलफल भएको प्रचण्डकी बुहारी बीना मगरले कतै गरेको भनिन्छ । पछि कांग्रेसको समर्थन पाएर बसन्त कुँवर आइजी भए । त्यसै पनि अहिलेको सरकार हुँदासम्म एमालेको केही चल्ने भएन । माओवादीको तर्फबाट कुनै विरोध नहुँदा उनी सर्लक्क आइजी बने । जबकि, उनी आइजी हुने अघिल्लो दिनसम्म पनि कतै दौडधुप गरिरहेका थिएनन्, जुँगामा ताऊ लगाएर हेडक्वार्टरमै थिए । 

खासमा अहिले आइजी अशोक सिंह हुने थिए । उनलाई बनाउनका लागि माओवादी र कांग्रेस पनि तयारै थिए । तर, पहिलो नम्बरमा डिआइजी हुँदा ‘विश्वराज पोखरेल हुन्छस्’ भनेर धीरजप्रतापले रोके । त्यसैले डिआइजी बढुवाकै वरियताका आधारमा आइजी बनाइँदा पहिलो नम्बरका कुँवरले अवसर पए । धीरजले भनेका थिए, ‘तीनबाट एक हुन सजिलो छ, त्यसैले अहिले तिमी चूप लाग †’ तर, धीरज ३० वर्षे प्रावधान हटाएर आफू नै हुन निरन्तर हुन सकिनेमा पूर्णतया आशावादी थिए । त्यसपछि अशोक ‘कुनै हालतमा हुन दिन्न’ भनेर लागे । दुईबीच बोलचाल बन्दसम्मको स्थिति भयो । ‘मलाई सिध्याउँछस् भने तँलाई पनि सिध्याउँछु’ भनेर लाग्दा अशोक आपतमा परे । हेडक्वार्टरको कप्रमा एसपी बेलबहादुर पाण्डे थिए । उनी ०५१ भदौ १ गतेका असई । अर्थात्, अर्को वर्षको त्यही मितिमा ३० वर्षे लागेर घर जाने । यसर्थ, उनको एसएसपी पद सुनिश्चित गर्दै अशोकको जन्म मितिको लफडा बाहिर ल्याइयो, मदनबाबु भण्डारीमार्फत । त्यही सूचनाका आधारमा अख्तियारमा उजुरी प¥यो । 

अशोकको कुराले श्यामलाई पनि अप्ठेरो प¥यो । जन्म मितिसम्बन्धी विवरण बाहिर आउँदा अशोकले राजीनामा दिए, श्यामलाई पनि झण्डै अख्तियारले सिध्याएको । समस्यामा परेपछि अशोक सिंह भारतीय दूतावाससम्बद्ध कीर्ति पाण्डेमार्फत भेट्न गए । धीरजले ‘भित्र हाल्छु’ सम्म भनेपछि लœयाकलुत्रुक भएर राजीनामा दिन तम्सिए । खासमा समस्या ठूलो छँदै थिएन । श्यामले पछि क्लिनचिट पाएबाट पनि यो मामिला उछालिएजति गम्भीर थिएन भन्ने प्रष्ट हुन्छ । उजुरी परेपछि छानवीन गर्न भनेर अख्तियारले गृहमा पत्र पठायो । अर्थात्, ऊ नरम भयो । किनभने अख्तियारले चाहँदा आफैं बोलाउन सक्थ्यो, दिनभरि ठिंग्याएर फर्काइदिन्थ्यो । गृहमा पत्र पठाउनुको मतलब कसैको करिअर नबिगारौं भन्ने पनि हो । अख्तियारले गृहमा पठाएको उक्त पत्र बीचैमा सार्वजनिक भयो । 

यसपछि कुँवरको पक्षमा कांग्रेस जोडदार हिसावले लाग्यो । श्यामचाहिँ ‘यही बेला पत्र किन काट्नुपरेको’ भन्दै रुष्ट भए । अहिले अनुसन्धानका क्रममा बारम्बार प्रेम राईको प्रसंग आउँदा त्यो रुष्टता प्रकट भएको बुझिन्छ । टोपबहादुरका छोरा पाल्पाको सिद्धबाबा भएर बुटवल आउँदै गर्दा समाउने सल्लाह भयो । बुटवलका डिएसपी दानबहादुर थापाले त्यो काम गरे । बुटवलकै सानागाउँमा टोपबहादुरको लोकेसन देखियो । आइजीले ‘लामो कुरा भयो, उहाँ आफैं आउनुहुन्छ’ भनेपछि पक्राउ गरिएन । आइजीले टोपबहादुरलाई भनेका रहेछन्, ‘अनुसन्धानका क्रममा केही हुन्न, सामान्य सोधपुछ गरेर छोड्छ, जानुस् ।’ तर, ‘हस्’ भनेका टोपबहादुर त्यहीँबाट भारततिर लागे । राति ९ बजे बुद्ध एयरको काठमाडौं उड्ने टिकट पनि रद्ध गराए । यो प्रकरणमा आइजीले मान्छे भगाएको हल्ला चलाइयो । सामान्यतया कसैसँग आइजीको कुराकानी हुनसक्छ, तर अनुसन्धान बिगार्ने नियत पक्कै राखेनन् । पछि बूढानीलकण्ठबाट उनलाई पक्रिन आइजीकै सीधा निर्देशन चल्ने हेडक्वार्टरको विशेष व्युरो गएको हो । 

प्रेम राईले क्यान्टोनमेन्ट घोटालाको फाइल खोल्लान् भन्ने शंका त छँदै छ त्यसैले उनलाई यही प्रकरणबाट बिदा गरेर लीलामणिलाई अख्तियार प्रमुखमा लैजाउँला भन्ने पनि माओवादी वृत्तको सोचाइ बनेको हुनुपर्ने बालकोटको बुझाइ छ । 

 

टिप्पणीहरू