दिपासाको स्कुटी खोसेर कसले दियो दुःख ?

दिपासाको स्कुटी खोसेर कसले दियो दुःख ?
सुन्नुहोस्

‘मृत्यु मात्र रहेछ, जसले आजसम्म कसैलाई धोका दिएको छैन’ भन्दै प्राण त्याग्न विष सेवन गरेकी कलाकार दिपासा बिसी (जलपरी) को आत्महत्या प्रकरणले नयाँ मोड लिने भएको छ ।

उनको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा १४ दिनअघि निधन भएको हो । विष सेवन गरेको अघिल्लो दिन प्रेमभाव झल्काउने संवादलाई टिकटक बनाई त्यसमा ‘बस्, पुग्यो अब सबै’ लेखेकी उनले केही दिनअघि फेसबुक वालमा विरक्तिभाव झल्काउने ४६ र २१ शब्दका फरक–फरक स्ट्याटस लेखेकी थिइन् ।

अन्तिम स्ट्याटसमा लेखेकी हुन्, मृत्युप्रतिको विश्वास । त्यसअघि उनले विश्वास, माया र सम्बन्ध फिल्ममै ठीक भएको ठहर गर्दै ती कुरा यथार्थ जीवनमा सहन गाह्रो हुने लेखेकी थिइन् । उनको निधनलाई लिएर अनेकन अड्कलबाजी चलिरहेका छन् । तर, यथार्थ फरक रहेको भन्दै उनको न्यायका निम्ति उनका परिवार र सहयोगी आजै प्रहरीमा जाने भएका छन् । दिपासाको शोकसन्तप्त परिवारसँग नियमित सम्पर्कमा रहेकी अधिवक्ता तथा कलाकार नन्दा बस्यालले न्यायिक विधिबाट केही कदम चालिने बताइन् । जनआस्थाले हिजो मंगलबार बस्याललाई सम्पर्क गर्दा भनिन्, ‘आज १३ दिनको काम सक्दैछौं, भोलि कुरा गरौंला ।’

दिपासाका निकटस्थले जनआस्थालाई बताएअनुसार उनको जीवनमाथि कुनै पुरुषद्वारा गम्भीर खेलबाड गरियो । उनी आफ्नो सामाजिक छवि उत्कृष्ट बन्नुपर्छ भन्नेमा एकदमै गम्भीर थिइन् । एउटा कारोबार बिग्रिँदा मीटर ब्याजमा पैसा लिनुपर्ने भयो र समयमा तिर्न नसक्दा ती पुरुषले कहिले स्कुटी खोसिदिने, सार्वजनिक स्थलमा बेइज्जत गर्नेजस्ता काम गरेको चर्चा गरिँदै छ । ती पुरुषका विभिन्न गतिविधि र व्यवहारले उनलाई मानसिक रुपमा केही समययता यातना दिएको अनुमान ती निकटस्थले गरेका छन् । सम्भवतः यही विषयलाई लिएर उनको परिवार आत्महत्या दुरुत्साहनसम्बन्धी जाहेरी दिने भएका छन् । यद्यपि, यस काममा सक्रिय रहेकी सहयोगी नन्दाले यसबारे केही बताउन चाहिनन् । भनिन्, ‘केही कुरा छन्, पछि गरौंला ।’

सुर्खेतकी दिपासा दोहोरी गीत गाउने सन्दर्भबाट कला क्षेत्रमा जोडिएकी हुन् । पछि उनी म्युजिक भिडियो हुँदै फिल्मी अभिनयमा संलग्न भइन् । कलाकारले कलाकारिता मात्रै गरेर जीवनयापन गर्ने अवस्था नेपालमा छैन भन्ने कुरा महसुस गर्दै उनी अलग्गै उद्यमसँग जोडिएकी थिइन् । सुन्धारास्थित काठमाडौं मलमा उनको सौन्दर्य प्रसाधनको बिक्रीसँगै ब्युटी पार्लर पनि सञ्चालन गरेकी थिइन् ।

कोभिड संक्रमणपूर्व उनले त्यहाँ काम गर्ने सहयोगीलाई मासिक तलब र भाडा तिरेर त्यसबाट नाफा निकाल्ने गरेकी थिइन् । तर, त्यसपछि क्रमशः उनी आर्थिक समस्यामा पर्न थालिन् । देशमा चौतर्फी आर्थिक मन्दी फैलिएसँगै उनले पसल चलाउनका निम्ति ऋण लिने र ब्याज तिर्ने काम थालिन् । भनिन्छ, उनी १६ लाखभन्दा बढी ऋणमा थिइन् । तर, ऋणको पिरले आत्महत्या गर्नुपर्ने स्थिति थिएन ।

किनभने, उनले दुःखजिलो गरेर कमाएको पैसाले साँवा र ब्याज तिर्न पुगिरहेको थियो । अतिरिक्त खर्चको भने केही समस्या हुने गरेको थियो । त्यसमाथि केही पैसा घाटा खाएरै भए पनि पसल बिक्री गर्ने निधो गरिसकेकी थिइन् । पसल किन्ने व्यक्ति पनि सम्पर्कमै थिए । आर्थिक तनावले नै उनको सबै कुरा बिथोलिएको थियो भने उनीसँग क्यानाडाको पाँच वर्षे भिसा थियो । केही महिनाअघि कार्यक्रम प्रस्तुतिका लागि त्यहाँ जाँदा उनीसँगै गएका अरु कलाकार त्यतै बसे, उनी फर्किइन् । 

यसपछि कलाकारिता पृष्ठभूमिका आठ जना मानिसलाई दुबई पठाउने योजनामा उनी असफल मात्रै भइनन्, त्यही क्रममा लागेको आठ लाखको ऋण मीटरब्याजीले ६० लाखभन्दा बढी बनाइदिए । दुबई पठाइने मानिसको ट्राभल डकुमेन्ट बनाउँदा प्रतिव्यक्ति एक लाखका दरले रकम उठाइएको थियो । तर, उनीहरू एयरपोर्टबाट फिर्ता भए ।

त्यसपछि दिपासाले सबैको पैसा फिर्ता गरिन् । पसलको ऋण छँदै थियो । अलग्गै आठ लाखको भारलाई उनले जसोतसो मिलाइन् तर पैसा दिने व्यक्ति परे मीटरब्याजी । आठ लाख बढेर अकासिएपछि उनी थप तनावमा परेकी हुन् । अहिले परिवारका सदस्य उनलाई तनाव दिने व्यक्तिले गरेका हर्कतको प्रमाण संकलन गर्दै कानुनी उपचार खोज्दै छन् ।

टिप्पणीहरू