बालुवाटार बैठकमा चीनको चर्चा

बालुवाटार बैठकमा चीनको चर्चा

माओवादी केन्द्रको नेतृत्वमा सरकार छ । तर, कांग्रेसले सम्हालेका मन्त्रालयले गर्ने कतिपय निर्णय प्रधानमन्त्रीलाई थाहै हुँदैन । घरेलु राजनीतिका सन्दर्भमा मात्र होइन, अन्तर्राष्ट्रिय मामिलाका संवेदनशील विषयमा समेत विभागीय मन्त्रीले पेलपाल गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कतिसम्म आजित हुनुपरेको रहेछ भन्ने कुरा उहाँकै मुखबाट चुहिएको छ । 

हुन त, नेपालले असंलग्न परराष्ट्र नीति अँगाल्दै आएकाले सरकारको नेतृत्वमा जो भए पनि विदेश मामिलामा फरक नपर्नुपर्ने हो । तर, दक्षिण र पश्चिमको चासो बोक्ने गरेको आरोप लागेका परराष्ट्रमन्त्री एनपी साउदले ‘एक चीन नीति’प्रति नेपालको प्रतिबद्धता बिर्सिएर ‘फ्रि तिब्बत मुभमेन्ट’ चलाइरहेका दलाई लामाको शुभकामना सन्देश सुनाउन प्रदेश सरकारलाई क्याबिनेटमै प्रस्ताव लगेर सहमति दिएपछि प्रधानमन्त्री अप्ठेरोमा परेको सन्दर्भ हो यो ।

आइतबार समाजवादी मोर्चाको बैठकमा प्रधानमन्त्रीले बेलिबिस्तार लगाउँदै भन्नुभयो– दलाई लामालाई लुम्बिनी ल्याउने कुरा रहेछ, चीनले आपत्ति जनाएपछि बल्ल थाहा भयो । प्रदेश सरकारको आयोजनामा फागुन २७ देखि २९  गतेसम्म लुम्बिनीमा ‘बालबालिकाको विकास र शान्तिका लागि अन्तर्राष्ट्रिय शिखर सम्मेलन’ हुँदै छ । यस क्षेत्रका एक दर्जनजति नोबल पुरस्कार विजेताहरू अतिथिका रूपमा निम्त्याइएका छन् ।

नेपालले समेत चीनको अभिन्न अंग मानेको तिब्बतलाई छुट्टै राज्य बनाउने अभियानअन्तर्गत आन्दोलन चलाइरहेका दलाई लामालाई पनि नोबल पुरस्कार विजेताका रूपमा लुम्बिनी ल्याउने मुख्यमन्त्री डिल्ली चौधरीको योजना थियो । त्यसका लागि उनले पत्र लेखेर अनुमति मागेकोमा परराष्ट्र मन्त्रालयको सल्लाहअनुसार दलाई लामालाई प्रत्यक्ष सहभागी नगराई उनको शुभकामना सन्देश पढेर सुनाउने र भर्चुअल भाषण गराउने कार्यक्रम तय गरियो । क्याबिनेटबाट यससम्बन्धी निर्णय पनि भयो । 

दलाई लामाले ‘फ्रि तिब्बत मुभमेन्ट’ शुरु गरेकै दिन पारेर मार्च १० तारिखका दिन सम्मेलनको उद्घाटन गराउने रणनीतिक चाल यहाँस्थित चिनियाँ दूतावासले थाहा नपाउने कुरा थिएन । चिनियाँ टोलीले प्रधानमन्त्रीलाई भेटेर कार्यक्रम रोक्न आग्रहमात्र गरेन, कडा शब्दमा विरोध जनायो । कार्यक्रमलाई चीनविरोधी गतिविधिका रूपमा नोटिशमा लिने चिनियाँ पक्षको चेतावनी मोर्चाको बैठकमा प्रधानमन्त्रीले सुनाउनुभयो । कार्यक्रम नरोके दुई देशबीचको सम्बन्धमै दरार आउने कडा चेतावनीपछि प्रचण्डले कांग्रेस नेतालाई बोलाएर सल्लाह गर्नुभयो ।

सम्मेलनको उद्घाटन मिति र स्वरूप परिवर्तन गर्ने सहमति भयो । प्रधानमन्त्रीले सोहीबमोजिम निर्देशन दिएपछि भोलिपल्ट अर्थात् मार्च ११ मा सम्मेलन उद्घाटन गर्ने र दलाई लामाको शुभकामना सन्देश पढेर नसुनाउने तय भएको छ । कार्यक्रमको संशोधित सेड्युलमा उनको भर्चुअल सम्बोधन पनि राखिएको छैन । बैठकमा प्रधानमन्त्रीको भनाइ सुनाउँदै मोर्चाका नेताले भने, ‘शुरुमा कार्यक्रम गर्नै नहुने चिनियाँहरूको अडान थियो । पछि दलाई लामालाई सम्मेलनमा सहभागी नगराउन निर्देशन दिएको छु, अब त्यहीअनुसार हुन्छ । चिनियाँ पक्षको मुख्य असन्तुष्टि सम्बोधन भएकाले अप्ठेरो हुँदैन भन्नेमा उहाँ ढुक्क हुनुहुन्छ । ’
 

टिप्पणीहरू