बिजुलीमा यसरी पेलिँदैछ देशवासीलाई

बिजुलीमा यसरी पेलिँदैछ देशवासीलाई

२० प्रतिशतभन्दा बढी मुनाफा लिए सिधै कालोबजारी ऐन आकर्षित हुन्छ, त्यसरी नाफा लिनेलाई सीधै कैद सजाय हुने कानुनी व्यवस्था समेत छ । तर दाना पसले, लत्ताकपडा, मेडिकलवाला होइन कि सरकारी एकाधिकारप्राप्त एउटा निकायले खुलेआम कालोबजारी गरिरहेको छ । यस्तोमा सरकार, ऊर्जामन्त्री र कुलमान घिसिङहरूलाई कालोबजारी ऐन लाग्छ कि लाग्दैन ? 

अन्तर्राष्ट्रिय अभ्यास हेर्ने हो भने एकाधिकारप्राप्त सरकारी निकायले ३ प्रतिशतभन्दा बढी मुनाफा लिन पाउँदैन तर विद्युत् प्राधिकरणको खुद नाफा नै २४ प्रतिशत रहेको देखिन्छ, अघिल्लो आर्थिक वर्षको विवरण केलाउँदा । खुद नाफा २४ प्रतिशत आर्जन गर्नका लागि उसले त्योभन्दा बढी नाफा लिएको हुनुपर्छ ।

०७९/८० मा विद्युत् प्राधिकरणको खुद मुनाफा १२ अर्ब थियो । एकातिर दक्षिणी छिमेकी मुलुकलाई वार्षिक अर्बाैंको ऊर्जा बेच्ने विषय छ । त्यसमा पनि घाटाको व्यापार चलिरहेको छ । भारतलाई नेपालले प्रति युनिट ७ रुपैयाँ ७६ पैसामा बिजुली बेचेर उताबाट प्रतियुनिट १० रुपैयाँ ७६ पैसामा किन्दै आएको छ । यो भनेको प्रतियुनिट ४ रुपैयाँ घाटाको व्यापार हो । अघिल्लो आर्थिक वर्ष मात्र नेपालले भारतसँग ऊर्जामै ९ अर्ब घाटा व्यहोरेको छ । प्राधिकरणले जति नाफा आर्जन गरेको छ त्यो भनेको  नेपालीलाई नै बेचेको फल हो ।

अघिल्लो आर्थिक वर्ष विद्युत् प्राधिकरणले ९० अर्बको बिजुली नेपालीलाई नै बेचेर कमाएको नाफा हो १२ अर्ब । अघिल्लो आर्थिक वर्ष १ अर्ब ३५ करोड युनिट स्वच्छ बिजुली निर्यात गरी १० अर्ब ४५ करोड बराबरको बिजुली बेच्दा उताबाट १ अर्ब ८३ करोड युनिट (प्रदूषक) बिजुली निर्यात गरिएको अर्थात् १९ अर्ब ४४ करोडको आयात गरिएको छ ।

अघिल्लो आर्थिक वर्षको विद्युत् व्यापार घाटा ८ अर्ब ९९ करोड थियो । यो आर्थिक वर्षको पुस महिनासम्ममा १५ अर्बको बिजुली भारतलाई बेचिएकोमा अब सुख्खायाममा उताबाट कति बिजुली किनिछ त्यो हेर्न बाँकी छ । भारतलाई १० वर्षमा १० हजार मेगावाट बिजुली बेच्ने  र हामी धनी बन्ने गफलाई विज्ञहरु सोम शर्माको सपना भन्दै छन् । 

हरि रोक्काहरुको नेपाल वैकल्पिक अध्ययन समाजले गतहप्ता आयोजना गरेको कार्यक्रममा जलविद्युत्मा भारतको औपनिवेशीकरण हुन लागेको कार्यपत्र लिएर प्रस्तुत हुँदै थिए रत्नसंसार श्रेष्ठ  । रत्न हरिका गुरु । ९ पृष्ठ लामो कार्यपत्रमा विगतदेखि वर्तमानसम्म भारतले विद्युत् ऊर्जामा कसरी पेलपाल गरिरहेको छ तथ्य र तथ्यांक उल्लेख थियो । कार्यपत्रमाथिको टिप्पणीकार थिए,  ऊर्जामन्त्री शक्ति बस्नेत,  पूर्वमन्त्री दीपक ज्ञवाली, हरि पण्डित र प्रकाश दुलाल ।

तर ऊर्जामन्त्री बस्नेत  राजनीतिक भाषण दिएर हिँडे । निमन्त्रणा गर्न पुग्दा शक्तिले भनेका थिए, कार्यपत्र त निकै कडा रहेछ  नि दाइ ! हरि रोक्का कुलमान घिसिङलाई निम्त्याउन गएका थिए । कार्यपत्र प्रस्तोताको नामै सुनेर उनी आउन चाहेनन् । रत्नले भने कुलमानलाई अनावश्यक रुपमा नेपालीले हिरो बनाएको टिप्पणी गर्दै आएका छन् ।
 

टिप्पणीहरू