एमाले हाइकमाण्डका गम्भीर कुरा

एमाले हाइकमाण्डका गम्भीर कुरा
सुन्नुहोस्

‘माधवले मागेको माग्यै छन्’ भन्दै एमाले सचिवालय बैठकमा अध्यक्ष केपी ओलीले थप्नुभयो, ‘मागेजति दिन सकिँदैन, त्यसैले परिस्थिति गम्भीर छ !’उहाँले सरकार निर्माणका निम्ति बनाएको पछिल्लो समीकरणबाट अगाडि बढ्न समस्या भइरहेको बेला वाह्य चलखेल पनि तीव्र भएको बताउनुभयो ।

‘परिस्थिति गम्भीर छ’ भन्ने कुरा वाह्य गतिविधिका कारण उठाउनुभएको आइतबारको उक्त बैठकमा उपस्थित एक नेताले जनआस्थालाई बताए । अर्कातिर, जहाँ–जहाँ अधिवेशन, त्यहीँ–त्यहीँ पार्टी समस्यामा परेको छ ! अहिले प्रतिनिधि परिषद् बैठकको तयारीमा जुटेको एमालेका एकाधबाहेक सबै जिल्ला अधिवेशनले निर्वाचनबाट नेतृत्व छानेको छ । त्यसले पार्टीभित्र गुट र उपगुटहरु जन्माएको नेताहरुको ठम्याई छ ।

यसबीच, कर्मचारीसहितका विभिन्न पेशागतकर्मीलाई संगठित गरिने विशेष जिल्ला कमिटीमा मनोनित गरेर ल्याउने र उनीहरुलाई नै इलाकाको इञ्चार्ज बनाउने योजना विवादका कारण सफल हुन सकेको छैन । बालकोटले काठमाडौं विश्वविद्यालयका प्राध्यापक डा.देवराज अधिकारीलाई गैरसरकारी संस्था हेर्ने इलाकाको इञ्चार्ज बनाउने गरी मनोनित गर्न निर्देशन दियो ।

तर, तलबाट डा. अर्जुन कार्कीको आरआरएनका कर्मचारी किशोर सिग्देललाई ल्याउने तयारी हुँदा निजामती कर्मचारीमा कसलाई नेता बनाउने भन्ने अलमल छ । त्यसमाथि ‘उच्चस्तरीय क्षेत्र’ भन्दै निजामती, वित्तीय, स्वास्थ्य इलाकालाई प्रदेश कमिटीस्तरको विशेष प्रदेशले हेर्ने भन्न थालिएको छ । विधानतः इलाकाहरु जिल्ला कमिटी मातहत पर्छन् । प्रदेश अध्यक्ष प्रेमप्रसाद पराजुलीका भाइ मोहन निजामती इलाकामा अध्यक्ष छन् । उता, विशेष प्रदेशको अधिवेशन भएको दुई महिना बित्दा पनि सचिवालय बनेको छैन, जिम्मेवारी बाँडफाँड भएको छैन ।

अर्कातिर, जिल्ला–जिल्लामा चलिरहेको अधिवेशनमा चुनावबाट नेतृत्व चयन भइरहेका छन् । त्यसक्रममा बालकोटपक्षीय र इतर समूहबीच प्रतिस्पर्धा हुने गरेको छ । यसक्रममा चैत २३ गते ललितपुर अधिवेशनले पुरुषोत्तम आचार्यलाई पुनः अध्यक्षमा छानेको छ । चार प्रतिस्पर्धीमध्ये चेतनाथ सञ्जेलले १ सय ५४, दिनेश कार्कीले ८१ र सुवर्ण श्रेष्ठले ९ मत पाएका थिए । जित्ने पुरुषोत्तमले २ सय २९ मत ल्याए ।

ललितपुरमा एमालेबाट विद्रोह गरेर माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीमा गई एक वर्षअघि फर्किएका कसैले पनि जितेनन् । एकजनाले आफैं निर्विरोध हुने चाँजोपाँजो मिलाए । बाँकीले हारेर ‘ठण्डाराम’ भए । एकीकृत समाजवादीको जिल्ला सचिव सुदर्शन मिश्रले एमालेको पनि जिल्ला सचिवमै इच्छा राखेर उम्मेदवारी दिएका थिए तर, राम राउतसँग पराजित भए । सदस्यका लागि उम्मेदवार बनेका शालिकराम मिश्र, राजेन्द्र थापा मगर, ऋषिराज भेट्वाल, माधव बञ्जारा, लक्ष्मण रोकाहरुले पनि हारे । तर, नविन तण्डुकार पुरुषोत्तमसँग कुरा मिलाएर निर्विरोध सदस्य बनेका छन् । एकीकृत समाजवादीका नेता उमेश बजगाईं भने पुरुषोत्तमका लागि भोट मागिरहेका थिए । 

पर्वतको अधिवेशनमा राष्ट्रियसभाका निवर्तमान अध्यक्ष गणेश तिम्सिनाको प्यानललाई अहिलेका कानुन मन्त्री पदम गिरीको प्यानलले ‘क्लिन स्वीप’ गरिदियो । बाग्लुङमा पत्रकार हरिनारायण गौतमले दिएको उम्मेदवारीलाई फिर्ता गराई हिरा केसी सर्वसम्मत अध्यक्ष भए । ओखलढुंगामा अधिवेशन नसकिँदै भाँडभैलो भयो । बालकोटबाट पठाइएअनुसार जिल्ला अध्यक्षमा जीबी खड्काको नाम टाँँसिएपछि बहालवाला शंकर कट्वालले ‘जिन्दगीमा यस्तो विचित्र नदेखेको’ भन्दै साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिए ।

त्यहाँ पूर्वमाधव नेपाल समूहका यज्ञराज सुनुवारहरुले हर्कबोल राईलाई उठाएका थिए । ओली–ईश्वर पोखरेल पक्षका अम्बिरबाबु गुरुङहरुले जीबी खड्कालाई उठाएकोमा १३ मतले हर्कबोल पराजित भएको घोषणा गरियो । बारामा अरु सबै बालकोटपक्षीयले जित्दा अध्यक्षचाहिँ पूर्वमाधव नेपाल समूहका अध्यानन्द पाण्डे आए । खोटाङमा पनि ओलीले नचाहेका देवविक्रम राई अध्यक्ष भए । स्याङ्जामा भने सर्वसम्मत नेतृत्व चयन भयो । सूर्यप्रसाद गैरेलाई अध्यक्षमा दोहोर्‍याउँदै भर्खरै एकीकृत समाजवादी छोडेका रामचन्द्र (आरसी) भट्टराईलाई सचिव बनाइयो ।

सिन्धुपाल्चोकमा अरुण नेपालहरुले उठाएका उम्मेदवार कमल नेपाललाई हराउँदै होमनारायण श्रेष्ठले जिते । कमल नेपालले वामपन्थी एकता हुनुपर्ने भनी प्रतिवेदन पेश गरेपछि हारेको बताइन्छ ।

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू