कति सम्भव छ कांग्रेसलाई कस्न

कति सम्भव छ कांग्रेसलाई कस्न

चुनावबाट हैन, संसदभित्रै सांसद जोडजाड गरेर ठूलो पार्टी बन्नेतिर एमाले अध्यक्ष केपी शर्मा ओलीको ध्यान केन्द्रित भएको छ । यद्यपि, सोचेजस्तो हुने स्थिति अहिल्यै छैन ।

अहिले नेपालको संविधान धारा ७६ को उपधारा २ बमोजिम गठित सरकार ढल्ने अवस्था भयो भने त्यसपछि आकर्षित हुने उपधारा ३ हो । उक्त उपधाराले संसदमा सबैभन्दा ठूलो दलको नेतृत्वमा सरकार गठनको व्यवस्था गरेको छ । उक्त व्यवस्थाअनुसार बलियो हुनका निम्ति एमालेसँग ७९ सांसद छन् । जसपा विभाजनपछि अशोक राई पक्षमा ७ जना सांसद देखिए । उक्त संख्या जोड्दा ८६ पुग्छ ।

नागरिक उन्मुक्तिबाट रञ्जिता श्रेष्ठ एमालेसँग मिल्न गइन् भने दुई सांसद थप हुँदा ८८ सीट, अर्थात् कांग्रेस बराबर हुन्छ । यसबीच रवि लामिछानेको रास्वपा फुटाएर त्यहाँका आधा सांसदलाई एमाले बनाउने खेलो  छ । त्यसो भयो र त्यहाँबाट चार सांसदमात्रै लिन सकियो भने ९० सीट हुन्छ । त्यसमा माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीसँग एकता गरेमा थप १० सीट आर्जन हुन्छ । तर, त्यो सम्भावना झिनो छ । 

जसरी जसपाको विभाजनमा हतार हतार निर्वाचन आयोगले काम गरिदियो, त्यसबाट बुझ्न सकिन्छ कुनै न कुनै नियतले काम गरिरहेको छ । भनिन्छ, नियत यस्तै थियो । संसदको अघिल्लो कार्यकालमा आफूले गरेको मध्यावधिको सिफारिस असफल भए पनि यो संसदलाई त्यही ठाउँमा पुर्‍याउने, त्यसका निम्ति प्रचण्डकै काँधमा राखेर बन्दूक पड्काउनेसम्मका दाउ रहेको बुझिन्छ । त्यसैले ओली सम्झौता गरे पनि उग्र, विरोध गरे पनि उग्र हुँदै जानुभएको छ ।

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू