झापाली एमालेमा थप झमेला

झापाली एमालेमा थप झमेला
सुन्नुहोस्

‘दिएको थियो औंलो, निल्ने भयो डुडुल्नो’ भनेजस्तो झापामा एमाले अध्यक्ष केपी ओलीका निम्ति सभामुख देवराज घिमिरे नै ‘भारी’ भएका छन् । 

पहिलोपटक सांसद हुनेबित्तिकै ओलीकै बलमा, पार्टीबाट निर्णय नै नगरी सीधै सभामुख बनाइएका देवराज अहिले जिल्लामा वर्चस्व स्थापित गर्न तल्लीन छन् । चैतमा सम्पन्न जिल्ला अधिवेशनबाट उनीपक्षीय अध्यक्षका दावेदार शिव ढुंगेल उपाध्यक्ष हुन राजी भएपछि ओलीनिकटस्थ प्रेम गिरी सर्वसम्मत अध्यक्ष त बने ।

तर, अहिले शुरु भएको नगर अधिवेशनमा सभामुख देवराज आफूनिकटलाई अध्यक्ष र सचिव बनाउन सक्रिय भएका छन् । अर्थात्, जिल्ला अधिवेशनबाट इञ्चार्ज विशाल भट्टराईको पेलपालमा परी थचक्क बसेका देवराजपक्षीय कमरेडहरु नगर अधिवेशनबाट बदला लिने गरी तम्सिएका हुन् ।

विशाललाई ओलीप्रति बफादारिता देखाउनु थियो र उनका मान्छेलाई अध्यक्ष बनाइछाडे । तर, अब त्यही घटनाले अन्य नगरमा भने देवराजपक्षीय नेता हावी हुँदैछन् । गौरादहसहितका नगरमा ओलीका मान्छे छानीछानी हराउने योजना बनेको बताइन्छ । बिर्तामोडमा देवराजपक्षीय पूर्वअध्यक्ष सुवास भट्टराई फेरि अध्यक्षमै उठ्ने भन्दै छन् ।

तर, सचिव रहेका ओली पक्षका उम्मेदवारलाई विशालहरुले अगाडि सारिरहेका छन् । मेचीनगरमा रविन कोइरालानिकट पत्रकार सन्तोष आचार्यलाई देवराजपक्षले पनि टिकट दिएन । किनभने, उनले त्यहाँ आफ्नै मान्छेलाई अध्यक्ष बनाउन चाहेका छन् । अहिले पनि बिर्तामोड र अर्जुनधारामा उनको पक्षका अध्यक्ष छन् । उनी आफ्नो निर्वाचन क्षेत्र नं. २ मा आफ्नै वर्चस्व स्थापित गर्ने कुरामा चिन्तित भएका हुन् ।

त्यसो त जिल्ला अध्यक्ष प्रेम गिरी पनि त्यही क्षेत्रका हुन् । तर, उनी देवराजकै प्रतिस्पर्धी परे । अब हुने संसदीय चुनावमा पार्टीको जिल्ला अध्यक्ष स्वभावैले सांसदको दावेदार हुने नै भयो । त्यसैले पालिकाका कमिटीहरु कब्जा नगरी जिल्ला कमिटीलाई हायलकायल पार्न सकिँदैन भनेर उनको ध्यान तलतिर बढेको सुनिन्छ । 

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू