बाढीको जोखिममा फोटो र भिडियो खिच्नेको भीड

बाढीको जोखिममा फोटो र भिडियो खिच्नेको भीड

बाढीको जोखिम मोल्दै भिडियो र फोटो खिच्नेको संख्या बढ्न थालेको छ । नेपाल प्रहरीले बाढीको समयमा नदीनाला र खोला नजिकै गएर भिडियो तथा फोटो नखिच्न आग्रह गरेको छ । 

अविरल वर्षाका कारण देशभरका नदीनाला र खोलामा पानीको बहाव अत्यधिक बढेको रहेकाले प्रहरी प्रधान कार्यालयले उक्त आग्रह गरेको हो । 

पानीको बहाव बढेको बेला नदीनाला र खोला नजिकमा गई भिडियो तथा फोटो खिच्ने कार्य निकै जोखिमपूर्ण हुने भएकाले त्यस्ता किसिमका गतिविधि नगर्न प्रहरीको अनुरोध छ । 

जारी सूचनामा, ‘अविरल वर्षाका कारण नदीनाला र खोलामा पानी बहान अत्याधिक मात्रामा बढेको हुँदा नजिक गई भिडियो तथा फोटो खिच्ने कार्य जोखिमपूर्ण हुन्छ । यस किसिमका गतिविधि नगर्न,’ आग्रह गरिएको छ ।

यस्तै, लामो यात्रामा निस्कनुअघि सडकको अवस्थाबारे सम्बन्धित निकायबाट जानकारी लिनसमेत आग्रह गरिएको छ । मनसुन र अविरल वर्षाका कारण विभिन्न स्थानमा बाढी तथा पहिरोले गर्दा सडक अवरुद्ध रहेको र खुलाउने प्रयास भइरहेको जानकारी दिँदै प्रहरीले लामो यात्रामा निस्कनुअघि सम्बन्धित जिल्ला प्रहरी कार्यालय, प्रहरी कन्ट्रोललगायतमा सम्पर्क गर्न अनुरोध गरेको छ । 

मुलुकमा मनसुन सक्रिय भएसँगै बाढी–पहिरोले वितण्डा मच्चाएको छ । जेठ २८ गतेयता अविरल वर्षा, पहिरो, चट्याङ र बाढीका कारण देशभर ७० जनाको ज्यान गएको छ । त्यस्तै, ८६ जना घाइते, पाँच जना बेपत्ता, तीन सय ३५ वटा चौपायाको मृत्यु र ८६ वटा घर पूर्ण रुपमा क्षति भएको छ ।

टिप्पणीहरू