गोलबजारका मेयर र उपमेयर भन्छन् : हामीबीच कुनै विवाद छैन

गोलबजारका मेयर र उपमेयर भन्छन् : हामीबीच कुनै विवाद छैन

सिरहाको गोलबजार नगरपालिकाका मेयर श्यामकुमार श्रेष्ठले आफू र उपमेयर मान्ती साहबीच कुनै विवाद नरहेको बताएका छन् । उनले मेयर र उपमेयरबीच बेमेल रहेको भन्ने प्रचारमा कुनै सत्यता नरहेको दाबी गरेका हुन् । 

जनआस्था डटकममा प्रकाशित ‘हिसाब नमिल्दै एमालेका मेयर र उपमेयरबीच बेमेल’ शीर्षकको समाचारप्रति आपत्ति जनाउँदै उनले खण्डन गरेका छन् । समाचारमा मेयर र उपमेयरबीच कमिशनबारे विवाद हुँदा भुक्तानीमा समस्या आएको उल्लेख छ । त्यस्तै, मेयरसँग कुरा नमिलेको फाइलमा उपमेयरले हस्ताक्षर गर्न नमानेको भन्ने समाचार पनि कुनै सत्यता नरहेको दाबी गरे ।

उनले भने, ‘समाचारमा उल्लेखित विषयवस्तुमा कुनै सत्यता छैन । उपमेयरसँग मेरो कुनैपनि मतभिन्नता छैन ।’ समाचारमा लेखिएका केही शब्दप्रति आपत्ति जनाइएको छ । हुँदै नभएको विषयलाई ‘जाल बुनेर’ समाचारको रंग दिइएको भन्दै उनले दुःखेसो पोखे ।  

उपमेयर साहले पनि उक्त समाचारप्रति आपत्ति जनाएकी छिन् । ‘असत्य समाचार’ उपमेयरले भनिन्, ‘त्यो कुरा कहाँबाट आयो म आश्चर्यचकित छु । हुँदै नभएको विषय उल्लेख छ । मेयरसँग विवाद भएको, कमिसनको कुरा नमिलेको भन्ने सबै कुरा गलत हुन् ।’

टिप्पणीहरू