सिन्धुलीमा फसे बटुक,कसरी जाला हेलिकाेप्टर ?

सिन्धुलीमा फसे बटुक,कसरी जाला हेलिकाेप्टर ?

अस्ति साँझदेखि परेको निरन्तरको वर्षाले राजधानी उपत्यकासहित मुलुकका धेरै स्थानमा बाढी,पहिरो र डुबान भएको छ । राजधानीका अधिकांश नदीको जल सतहले सीमा पार गरेको छ । वरपरका बस्ती डुबानमा परेका छन् । 

राजधानीका होचा सडक पनि जलमग्न भएका छन् । नारायणहिटी दरबारको पूर्व र उत्तरी भाग, माइतीघर,शंखमुल, कालिमाटी क्षेत्र डुबेको छ । ललितपुरको नख्खु र सानेपा क्षेत्रमा धेरै घर डुबानमा परेको छ ।

राति नै उद्धारका लागि धेरै ठाउँबाट खबर आए पनि सशस्त्र प्रहरी बलसँग जम्मा तीन वटा डुंगा भएकाले सकेजति उद्धार गर्न नसकिएको बुझिएको छ । उद्धारमा खटिएका एकजनाले भने, ‘उद्धारको माग जताततै छ । नदी छेउका सर्वसाधारण धेरै ट्रयापमा परेको देखिन्छ । ललितपुरको नख्खु र सानेपाको तल्लो भागमा समस्या बढी छ । मेडिसिटी एरियाको अवस्था पनि उस्तै छ ।’

उद्धारमा सशस्त्रको उपत्यका डिज्यास्टर टिमलगायत सबैजसो टोली खटिएको छ । कतिपय ठाउँमा डुबानको पानी निकाल्न पम्पले पानी तानिएको छ । सरकारले प्लास्टिकको डुंगासमेत उपलब्ध नगराएकोले उद्धारमा कठिनाई भएको बताइन्छ । ‘२ लाख डुंगा नकिन्ने सरकारसँग धेरै उद्धार सामाग्री र हेलिकोप्टरको आश गर्नु बेकार छ,’ उद्धारमा खटिएका सशस्त्रका एक जना इन्सपेक्टरले बताए ।

भर्खरै प्राप्त समाचारअनुसार सिन्धुली दुम्जाको महादेव मन्दिरमा करिब ३० जना बाढीको जोखिममा परेका छन् । सुरक्षा निकायले उनीहरु हेलिकोप्टर नभएसम्म उद्धार गर्न नसकिने अवस्थामा रहेको बतायो ।

यता, नारायणगढ–मुगलिन सडकको नौ ठाउँमा पहिरो गएको छ । बाढी र पहिरोका कारण राजधानी जोड्ने अधिकांश राजमार्ग अवरुद्ध छ ।

काभ्रेमा पहिरोले एउटा गाउँ नै बगाउँदा पाँच जना बेपत्ता र दुई जनाको निधन भएको  छ । इलाममा पनि पहिरो गएको छ ।

टिप्पणीहरू