धर्नामा बस्दै आएका डाक्टरहरु सडकमा, गौशालामा नाराबाजी

धर्नामा बस्दै आएका डाक्टरहरु सडकमा, गौशालामा नाराबाजी

सिनामंगलस्थित केएमसी अस्पतालमा आज पनि नाराबाजी भएको छ । नेपाली काँग्रेसका सांसद सुनिल शर्मा सञ्चालक रहेको उक्त अस्पतालमा इन्टर्नसीप गरिरहेका विद्यार्थीहरु केही दिनदेखि आन्दोलनरत छन् । 

अस्पताल प्रशासनले मनपरी शुल्क असुलेको विरोधमा असोज १ गतेदेखि धर्नामा बसेका उनीहरु प्रशासनले दमन गरेको जनाउँदै सडक संघर्षमा निस्किएका हुन् । एमबीबीएस अध्ययनरत विद्यार्थी महेश शाहको नेतृत्वमा आज अपरान्ह जुलुस निकालिएको छ । 

अस्पतालबाट निस्केको जुलुस सिनामंगल, एयरपोर्ट, तिलगंगा हुँदै गौशाला प्रहरी वृत्त पुगेर ‘कुटपिट सम्बन्धी’ जाहेरी दिन लागेको विद्यार्थीहरुले जनाएका छन् । त्यसक्रममा उनीहरुले ‘अतिरिक्त शुल्क फिर्ता गर’, ’हाम्रो माग पूरा गर’, ’डाक्टर ठग्न पाईंदैन’, ’गुण्डाराज मूर्दावाद’, ’एमईसीको गाइडलाइन लागू गर’ ’केएमसी प्रशासन मूर्दावाद’ जस्ता नारा लगाए ।  

’केएमईसीको गाइडलाइनअनुसार इन्टर्नसीपका लागि एकमुष्ट दुई लाख रुपैयाँ शुल्क बुझाएकोमा पढाई सकिएपछि साढे १३ हजार रुपैयाँका दरले क्रमशः रकम फिर्ता हुनुपर्नेमा अस्पतालले नदिएपछि विद्यार्थीहरु असोज १ देखि अस्पतालभित्रै धर्नामा थिए । तर, प्रशासनले बल प्रयोग गरेपछि उनीहरु हिजोदेखि सडकमा उत्रिएका हुन् ।

टिप्पणीहरू