सबै श्रेणीहरू

डिजिटल पेमेन्टमा उच्च जोखिम, सजगता अपनाउन सल्लाह

डिजिटल पेमेन्टमा उच्च जोखिम, सजगता अपनाउन सल्लाह

अनलाइन ठगीका घटना बढ्दै गएपछि नेपाल राष्ट्र बैंकले विद्युतीय कारोबार गर्दा सजगता अपनाउन अनुरोध गरेको छ । राष्ट्र बैंकले मोबाइल बैंकिङ्ग, डिजिटल वालेटजस्ता विद्युतीय माध्यमबाट कारोबार गर्दा सावधानी अपनाउन आग्रह गरेको छ । 

विद्युतीय कारोबारको गति द्रुतसँगै कारोबारको जालो जटिल हुने भएकाले रकम ट्रान्सफर भएपछि फिर्ता हुने सम्भावना कम हुन्छ । त्यसैले विद्युतीय माध्यमबाट रकम ट्रान्सफर गर्दा हतार नगरी रकम प्राप्त गर्ने व्यक्तिको नाम, खाता नम्बर, ट्रान्सफर गर्नुपर्ने रकमलगायत सबै विवरण त्रुटिरहित भएको यकिन गर्न बैंकले सल्लाह दिएको छ ।

व्यक्तिको मोबाइल नम्बर प्रयोग गरी रकम ट्रान्सफर गर्दा त्रुटीको सम्भावना बढी हुने भएकाले रकम प्रापकको नाम तथा मोबाइल नम्बर ठीक रहे–नरहेको यकिन गर्न पनि राष्ट्र बैंकको आग्रह छ । साथै, विद्युतीय कारोबारमा सुरक्षा अपनाउन बलियो पासवर्ड प्रयोग गर्न, पिन कोड, ओटीपी, टोकन नम्बरजस्ता संवेदनशील वित्तिय जानकारी अरु कसैलाई नदिन र मोबाइल बैंकिङ, डिजिटल वालेट आदिबाट हुने कारोबारमा सीमा तोक्न भनिएको छ ।