भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनको निशानामा परेको चन्द्रागिरी हिल्स लिमिटेडले विचलित नभएको जनाउँदै पुनः उठ्ने बताएको छ । हिल्सले फेरि उठ्ने र छिट्टै नै सेवा सुचारु गर्ने प्रतिबद्धता जनाएको छ ।
जेन–जी आन्दोलनका क्रममा गत मंगलबार सार्वजनिक तथा निजी सम्पत्तिमाथि आगजनी, तोडफोड र लुटपाट गरिएको थियो । सो क्रममा चन्द्रागिरी केबलकारमा समेत ठूलो क्षति पुगेको छ ।
हिल्सले भनेको छ, ‘प्रदर्शनकै क्रममा मंगलबार अन्य ठाउँहरुमा जस्तै हामीलाई समेत निशाना बनाई तोडफोड तथा आगजनी गरिँदा केबलकारको बटम स्टेशनमा ठूलो क्षति पुगेको छ । यद्यपि, हाम्रो अठोट कमजोर भएको छैन । गुणस्तरीय सेवाको माध्यमबाट नेपालको पर्यटन प्रवद्र्धनमा हामी कति पनि विचलित भएका छैनौं ।’
आगामी दिनमा व्यवसायिक वातावरण थप सहज बन्ने छ भन्ने अपेक्षासहित अझ गुणस्तरीय सेवामा समर्पित रहँदै थप लगानी र रोजगारी सिर्जना गर्ने विश्वास हिल्सको छ । साथै, यस्तो कठिन समयमा क्षति कम गराउन र आगजनी नियन्त्रणका निम्ति खटिएका सुरक्षाकर्मी, स्थानीय र कर्मचारीप्रति हिल्सले आभार प्रकट गरेको छ ।