राजीनामा दिन कस्सिएका गभर्नरको ‘ब्याक’गियर
राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेल राजीनामाबाट एकाएक पछाडि हट्नुको रहश्य बाहिरिएको छ । भदौ २३ गतेको प्रदर्शन र २४ गतेको विध्वंशपछि गठित नयाँ सरकारका अर्थमन्त्री रामेश्वर खनालसँगको पहिलो औपचारिक भेटमा पौडेलले राजीनामाको सन्दर्भ उठाएको बुझिएको छ ।
भदौ २९ गते अर्थ मन्त्रालय पुगेर गभर्नर पौडेलले अर्थमन्त्री खनालसँग आफू नयाँ परिस्थितिमा मार्ग प्रशस्त गर्न तयार रहेको बताएका थिए । मन्त्रालयको उच्च स्रोत भन्छ, ‘ललितपुरको भैंसेपाटी र चितवनस्थित निवासहरु आगजनीमा ध्वस्त भएको र गभर्नर नियुक्तिको क्रममा विभिन्न राजनीतिक शक्ति केन्द्रसँग जोडिएका कारण उनी पाँच दिनपछि राजीनामा दिने मुडमा पुगेका थिए ।’
विगतमा अर्थ सचिव हुँदा राष्ट्र बैंकको पदेन सञ्चालक रहेका कारण मन्त्री खनाल केन्द्रीय बैंकका प्रमुख कामकारबाहीबारे जानकार नै छन् । जेठ ६ गते तत्कालीन परराष्ट्रमन्त्री डा. आरजू राणा देउवाको जोडबलमा गभर्नर बनेको आरोप लागेका पौडेलले यसबीच केन्द्रीय बैंकको प्रशासनिक र नीतिगत निर्णयमा खासै भूमिका खेल्न नसकेको अधिकारीहरु बताउँछन् ।
‘राजनीति बढी,अर्थनीति कम’ बुझेका उनीमाथि गभर्नरको लागि ऐनमा तोकिएको शैक्षिक योग्यताको मापदण्ड नै नभएको अर्को आरोप लागेको छ । त्यसबारे सर्वोच्च अदालतमा दायर मुद्दा विचाराधीन छ । यस्तो अवस्थामा राजीनामा दिँदा राजनीतिक रुपमा इमान्दार देखिने र जेठ पछिका झमेलाबाट मुक्ति मिल्ने भन्दै उनले राजीनामाको रणनीति अख्तियार गरेको बताइन्छ । अर्थमन्त्रीको जवाफ उल्लेख गर्दै स्रोत भन्छ, ‘तपाइँले तोकिएको नियम,कानुनबमाेजिम काम गरुञ्जेल राजीनामाबारे सोचिएको छैन ।’ त्यसपछि गभर्नर पौडेल ‘हवस्’ भन्दै निस्किएका थिए ।
निजी निवास जलाइदिएपछि घरबारविहीन भएका उनी बैंकको थापाथलीस्थित भवनको एउटा कोठामा बस्दै आएका छन् । सुरक्षा गार्डले पकाएको खाना खाएर बालुवाटार कार्यालय जाने गरेका उनी राति सुत्न थापाथली आउँछन् । यसबीच बैंकले उनको निम्ति ललितपुरको बखुण्डोलदेखि भैंसेपाटीसम्म कम्तीमा साढे दुई तलाको,बढीमा डेढ रोपनी क्षेत्रफलमा कम्तीमा आधा दर्जन गाडी अटाउने ठाउँ भएको घर भाडामा लिन सूचना निकालेको छ ।
"भ्रष्टाचार रोक्न" जेन जीहरुले लगाएको आगोबाट घर ध्वस्त भएपछि अब बैंकले गभर्नरका लागि मासिक लाखौं रुपैयाँ घरभाडा,मर्मत तथा अन्य खर्च गर्नुपर्ने अवस्था उत्पन्न भएको छ । यसअघि तत्कालीन गभर्नर चिरञ्जीवी नेपालका लागि पनि बैंकले उनको कुसुन्तीस्थित घर कुचुक्क परेको जनाउँदै महाराजगञ्जमा महँगोमा फराकिलो कम्पाउण्ड भएको आधुनिक घर पाँच वर्षलाई भाडामा लिएको थियो ।
स्रोतका अनुसार गभर्नरका श्रीमती र छोरी निवास आगजनीमा परेपछि दशैं अगावै अमेरिका उडेका छन् । पौडेल पनि आगामी शनिबार अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिन बैंकका एक जना कार्यकारी निर्देशकलाई लिएर वासिङ्गटन जाँदै छन् । विश्व बैंक र आइएमएफको बैठकमा अर्थमन्त्री खनाल र अर्थ सचिव घनश्याम उपाध्याय पनि सहभागी हुँदै छन् ।
असोज ५ गते बेलुकी बसेको बैंक सञ्चालक समिति बैठकमा सचिव उपाध्यायले गभर्नर,डेपुटी गभर्नर, सञ्चालक र केही कार्यकारी निर्देशकविरुद्ध मन्त्रालयमा जेन जी कर्मचारीको नाममा हालिएको उजुरी पढेर सुनाएका थिए । सरकारले गत बजेट भाषणमा बढाएको महँगी भत्ता दिने प्रस्ताव अघि सारेपछि सचिव रन्किएका थिए ।
‘मुलुकको अवस्था यस्तो छ, तपाइँहरुले अघिल्लो वर्ष महाप्रसाद अधिकारीको पालामा सबै भत्तामा २५ प्रतिशत बढाउनुभयो । अहिले सरकारले बढाएको सामान्य भत्ता पनि बढाउन खोज्नुहुन्छ । तलब बढेको बेलामा फेरि बढाउने के हो यस्तो पारा ?’ भन्दै सचिवले कोटको खल्तीबाट मोबाइल निकाल्दै जेन जी कर्मचारीका नाममा हालिएको १२ बुँदे उजुरी पढेर सुनाएका थिए ।
एक जना सञ्चालकले बैठक कक्षकाे शब्द चित्र उल्लेख गर्दै भने, ‘गभर्नरको क्षमता,कर्मचारीहरुको निहित स्वार्थमा बनाइएको योजना, डेपुटी गभर्नरको टोक्यो, मकाउ भ्रमणमा देखिएको सुशासन, नामिबिया भ्रमणमा भएको ढुकुटी दोहन, एक जना कार्यकारी निर्देशकले एक वर्षमा गरेको एक दर्जन विदेश भ्रमणबारे धारावाहिक उजुरी सुनाउँदा सबैले मुखामुख गर्नुपर्यो ।'
टिप्पणीहरू