प्रतिनिधिसभा सदस्य पदका लागि पाँच निर्वाचन क्षेत्रमा १५९ जनाले उम्मेदवारी दर्ता गराएको रुपन्देही जिल्लामा पछिल्लो समय सुरक्षा व्यवस्थापनबारे चर्चा हुन थालेको छ ।
निर्वाचनको मुखमा जिल्लाका प्रहरी प्रमुख (एसपी) र उपप्रमुख (डिएसपी) दुवैको सरुवा भएपछि त्यस्तो चर्चा भएको बताइन्छ ।
प्रहरी प्रमुख प्रदीप बहादुर क्षेत्री रुपन्देहीबाट सरुवा भई नवलपुर जर्गा तालिम केन्द्र पुगेका छन् भने डिएसपी सुरज कार्की धादिङ गजुरी सरुवा भइसकेका छन्। तोकिएको अवधि नपुग्दै सुरक्षा निकायका अधिकारीहरु सरुवा भए पनि समग्र सुरक्षा व्यवस्थापन चुस्त राख्ने जिम्मेवारी प्रमुख जिल्ला अधिकारीसँग हुने भएकाले त्यसको समन्वय जिम्मेवारी पनि उनैको हो ।
तर जेन–जी प्रदर्शन र विध्वंशपछि सरुवा भएर रुपन्देही आएका प्रमुख जिल्ला अधिकारी माधव प्रसाद पोखरेलको प्रशासनिक सक्रियता पहिलेका सिडिओको तुलनामा कम रहेको राजनीतिक दलका नेता तथा उम्मेदवारहरूको भनाइ छ । जिल्लाका विभिन्न निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिएकाहरूले प्रमुख जिल्ला अधिकारीसँगको पहुँच कम भएकोतर्फ गुनासो गरेका छन्। बुटवलबाट प्रतिनिधिसभा सदस्य पदका एक प्रत्यासीले भने, ‘काम परेर पाँच–छ पटक फोन गरेँ, तर उताबाट कुनै रेस्पोन्स नै आएन ।’
यस्तै गुनासो सञ्चारकर्मीहरूले पनि गरेका छन् । प्रमुख जिल्ला अधिकारीको आधिकारिक फोन नम्बर ९८५७०७७७७७ मा सम्पर्क गर्दा प्रायः नउठ्ने, मेसेजको जवाफ र कलब्याक नआउने गरेको भनाइ छ ।
भारतसँग ७० किलोमिटरभन्दा बढी खुला सीमा जोडिएको, पाँच निर्वाचन क्षेत्र रहेको र १५९ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेको रुपन्देहीमा सुरक्षा संवेदनशीलता अन्य जिल्लाको तुलनामा बढी मानिन्छ । जिल्लाको क्षेत्र नम्बर ५ अन्तर्गत रुद्रपुरमा निशान शर्माको हत्या प्रकरणलाई लिएर महिनौंदेखि आन्दोलन चलिरहेको छ। तर उक्त क्षेत्रमा पुगेर समस्या समाधानतर्फ प्रशासनले हालसम्म पहल नगरेको आरोप छ।
यसअघिको उदाहरण दिँदै एक स्थानीले भने, ‘दुर्गाप्रसाद शर्माको साउदी अरबमा हत्या हुँदा तत्कालीन सिडिओ गणेश अर्यालले एकै दिनमा ४६ लाख २५ हजार रुपैयाँ ‘ब्लड मनी’ संकलन गरेका थिए। जेन–जी आन्दोलनपछिको अवस्था शान्त बनाउन तत्कालीन सिडिओ डा. टोकराज पाण्डे स्वयं बेलहियादेखि भैरहवासम्म शान्ति पदयात्रामा निस्किएका थिए।’
मधेश आन्दोलन र नाकाबन्दीको समयमा तत्कालीन सिडिओ विष्णु ढकालको समन्वयात्मक भूमिकाले रुपन्देहीलाई ठूलो संकटबाट जोगाएको स्थानीयले स्मरण गरेका छन् । २०७९ को निर्वाचनमा तत्कालीन सिडिओ भरतमणि पाण्डेको व्यवस्थापनबाट स्थानीय प्रभावित भएको धेरैको बुझाइ छ ।
तर चुनावको मिति नजिकिँदै जाँदा देखिएको अवस्थालाई यस पटक रुपन्देहीमा धेरैले पहिलेका घटनासँग जोडेर हेरेका हुन् । समयमै जोखिम मूल्याङ्कन गरेर सुरक्षा तयारी नगरे रुपन्देहीमा निर्वाचन अवधिमा सुरक्षा चुनौती थप जटिल बन्नसक्ने आकलन स्थानीय राजनीतिक वृत्त र सुरक्षा स्रोतले गरेको छ ।