​सलामी नलिँदा यस्तो होला कि सूत्र !

राष्ट्रप्रमुख र सरकार प्रमुखको भ्रमण व्यवस्थापन एक त संवेदनशील हुन्छ, अर्कातिर त्यस्ता भ्रमणका विश्वव्यापी परम्परा हुन्छन् । नेपालको सन्दर्भमा पनि ती मापदण्ड लागू नहुने कुरै छैन । त्यसको व्यवस्थापन गर्ने जिम्मेवारी छ, चारवटै सुरक्षा निकायसँग । तर, पछिल्ला दिनमा परम्पराविपरित भ्रमण चलिरहेका छन् ।

भिभिआइपी कुनै राजकीय या औपचारिक भ्रमणको सिलसिलामा देश बाहिर जाँदा–आउँदा नेपाली सेनाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित आफ्नै हातामा रहेको अति विशिष्ट उडान क्षेत्रमा सलामी, अर्थात् ‘गार्ड अफ अनर’ दिने प्रचलन छ । त्यसक्रममा राष्ट्र वा सरकार प्रमुखको निमित्तको कार्यभार सम्हाल्ने व्यक्ति, मन्त्रीगण, संवैधानिक अंगका प्रमुख,  विशिष्ट श्रेणीका पदाधिकारी, परराष्ट्रको शिष्टाचार महापाल, सम्बन्धित देशका राजदूत, सुरक्षा निकायका तोकिएका अधिकृतहरु उपस्थित हुनुपर्ने प्रचलन पनि छ । तर, यी औपचारिकता निजी भ्रमणको क्रममा आवश्यक मानिँदैन । जस्तो कि, सम्माननीय राष्ट्रपति निजी भ्रमणका सिलसिलामा कतै जानुपरेमा विमानस्थल पुग्ने झन्झटबाट मुक्त हुनुभएको छ । उहाँ शीतल निवासबाट नारायणहिटीस्थित उपत्यका पृतनामा अवस्थित हेलिप्याड पुग्नुहुन्छ । त्यहाँ सेनाको हेलिकोप्टर हुन्छ र त्यसैमा उडान भर्नुहुन्छ ।

तर, उपचार क्रममा साउन १८ गते सम्माननीय प्रधानमन्त्री सिंगापुर जाँदा अन्तर्राष्ट्रिय टर्मिनल भवनभित्रै रहेको भिभिआइपी लाउञ्ज प्रयोग नगरी औपचारिक भ्रमणको बेला खोलिने बाटो प्रयोग गर्नुभयो । आउँदा त्यस्तै भयो । सलामी पनि लिनुभएन । त्यसो त यो काम प्रधानमन्त्री आफैँले गर्नुहुने होइन । सवारी व्यवस्थापन गर्ने युनिटले त्यसरी लगिदिएपछि उहाँले ‘म जान्नँ’ भन्ने कुरा हुँदैन । उपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ) पनि केही समयअघि निजी भ्रमणको  सिलसिलामा चीनको कुन्मिङ जाँदा त्यही सलामी लिने ठाउँ प्रयोग गर्नुभयो ।

अर्को विसंगति देखिन्छ, स्वागत र बिदाई गर्न जानेहरुको । औपचारिक वा राजकीय भ्रमणबाहेक अरु बेलाका आवत–जावतमा को–को विमानस्थल जाने भन्ने तोकिएको हुँदैन । तर, नातागोता, कार्यकर्ता र निकटताको नाममा मान्छेहरुको ताँतीका कारण सुरक्षाकर्मी र विमानस्थलका कर्मचारीलाई हैरानी हुने गरेको छ । औपचारिक भ्रमणहरुमा पनि लाइनमा मर्यादाक्रम अनुसार उभिने प्रचलन छ । तर, समर्थक, शुभचिन्तकका नाममा जानेहरुले नियम मिचिदिँदा अर्को बेथिती छ । त्यसमाथि निजी भ्रमणका दौरान विमानस्थलमा जुलुस नै पुगेपछि त्यहाँको ट्राफिक व्यवस्थापनसमेत प्रभावित हुने गर्छ । सम्पूर्ण कर्मचारी संयन्त्र चर्काे दबाबमा रहन्छ ।

जसरी सम्माननीय राष्ट्रपतिले निजी वा अनौपचारिक भ्रमणमा विमानस्थलसम्म पुग्ने, सडक अवरोध हुनेजस्ता कुरालाई ख्याल गर्दै नारायणहिटीबाट उडान भर्ने प्रचलन शुरु गर्नुभयो, सबैको हकमा सधैंलाई यस्तै नियम बसालिदिए कति राम्रो हुने थियो † 

टिप्पणीहरू