गाउँपालिकाका कर्मचारीहरुमाथि पम्प चोरीको आरोप

गाउँपालिकाका कर्मचारीहरुमाथि पम्प चोरीको आरोप

सुनसरीको बर्जु गाउँपालिकाका कर्मचारीमाथि पानी तान्ने पम्प (मोटर) चोरीको आरोप लागेको छ । किसानलाई वितरण गर्न ल्याइएको ती मोटर कर्मचारीले लगेको रहस्य खुलेको हो ।

चालु आर्थिक वर्षमा वितरणका लागि ल्याइएकामध्ये पाँच वटा मोटर पालिकाको गोदाममा थियो । गोदाम खाली गर्ने क्रममा कर्मचारीले मोटर लिएर घरतर्फ गएको भन्दै स्थानीयले विरोध जनाएका हुन् । ती कर्मचारीहरुले अटोमा राखेर मोटर घरतिर लगेको स्थानीयको आरोप छ ।

स्थानीयले आरोप लगाएपछि गाउँपालिकाले अरुणकुमार राय, सन्तोष बञ्जारा र फिरोज अन्सारीलाई हिजो स्पष्टीकरण सोधेको थियो । ‘कृषि मोटर चोरी भएको जनगुनासो सुनिएकाले यो पत्र प्राप्त भएको २४ घण्टाभित्र मनासिब कारणसहित पेश गर्नुहुन अनुरोध छ,’ पत्रमा उल्लेख छ ।

आज उनीहरुले स्पष्टीकरण दिइसकेको प्रमुख प्रशासकीय अधिकृत प्रमोदकुमार चौधरीले जानकारी दिए । मोटर स्टोरबाट सामुदायिक विद्यालयमा सार्ने क्रममा स्थानीयले अवरोध गरेको उनीहरुले बुझाएको स्पष्टीकरणमा उल्लेख छ ।

टिप्पणीहरू