वडामा ताला लागेपछि वडाध्यक्षकै घरमा कार्यालय

वडामा ताला लागेपछि वडाध्यक्षकै घरमा कार्यालय

मुगुको छायानाथ रारा नगरपालिका वडा नम्बर १२ को परिवर्तनशील वडा कार्यालयमा २ हप्तादेखि ताला लागेको छ । वडा कार्यालयमा कर्मचारी राख्ने विषयमा नेकपा एमाले र माओवादी केन्द्रका जनप्रतिनिधिबीच द्वन्द्व हुँदा लामो समयसम्म वडा कार्यालय बन्द भएको हो ।

नगरपालिकाले केही दिनअघि एक सूचना जारी गर्दै करार कर्मचारीलाई हाजिर नगर्न निर्देशन दिएको थियो । त्यसको विरोधमा माओवादीबाट निर्वाचित जनप्रतिनिधिले कार्यालयमा ताला लगाएको वडाध्यक्ष आइतुराम रोकायाले बताए । त्यहाँ एमालेका वडा अध्यक्षसहित ३ जना र माओवादी केन्द्रका एक जना सदस्य रहेका छन् । वडाध्यक्षले करार कर्मचारीलाई हाजिर गर्न नदिई आफ्ना मान्छेलाई नियुक्त गर्न खोजेकाले तालाबन्दीको अवस्था आएको माओवादीबाट निर्वाचित वडा सदस्य रुनउदीप ऐडीले बताए ।

यसअघि तीन जना करार कर्मचारीले सेवा प्रवाह गरिरहेका थिए । नगरपालिकाले करार कर्मचारीलाई हाजिर नगर्न सूचना जारी गरेपछि वडाध्यक्षले रोकेको कर्मचारी हंसलाल बुढाले बताए ।

कार्यालयमा ताला लागेपछि अहिले वडाध्यक्षले आफ्नो नजिकका गोखबहादुर नेपालीलाई सहयोगी बनाई आफ्नै घरबाट सेवाप्रवाह गराइरहेका छन् । वडाध्यक्ष रोकायाको सदरमुकाम गमगढीको घरलाई सम्पर्क कार्यालय बनाएर त्यहीँबाट वडाको काम भैरहेको एक स्थानीयले बताए ।

वडावासीका अनुसार राजनीतिक खिचातानी र दुई हप्तादेखि वडा कार्यालयमा तालाबन्दी हुँदा सेवाग्राही मर्कामा परेका छन् । स्थानीय आइतुसिहं कामीका अनुसार वडामा ताला लाग्दा सामान्य सिफारिसको कामसमेत रोकिएको छ ।

यता,नगरपालिकाका प्रमुख विष्णुकुमार भामले भने दुई हप्तादेखि वडामा लागेको तालाबारे आज बल्ल थाहा पाएको जनाए । स्वास्थ्य संस्था र वडा कार्यालयको छड्के अनुगमनमा जाँदा कार्यालयमा दुई हप्तादेखि ताला लगाएको कुरा आफ्नो जानकारीमा आएको उनले बताए ।

टिप्पणीहरू